काठमाडौं । नेपालको पूर्वमा रहेको झापा जिल्लालाई चिनाउने ऐतिहासिक, धार्मिक र पर्यटकीयस्थल हो अर्जुनधारा नगरपालिका । झापाको खुदुनाबारीमा अवस्थित सहिद शाहदत स्थल, ऐतिहासिक शनिश्चरे बजार, हिन्दू धार्मिक आस्थाको केन्द्र पूर्वको पशुपतिनाथले चिरपरिचित अर्जुनधारा मन्दिर र झिलको सिमसार (सालबारी) नगरपालिकाका प्रमुख आकर्षण हुन् ।
हाल नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन् तिलोचन रिमाल । रिमालले निजामती क्षेत्रका माध्यमबाट जनतालाई सेवा दिएको करीब २५ वर्ष पूरा भएको छ । गाउँले परिवेशको भोगाइका कष्टकर समय व्यतित गर्दै निजामती क्षेत्रमा अविरल जनताको सेवा गर्ने नाम पनि हो तिलोचन रिमाल । सामान्य परिवारबाट उठेर प्रमुख प्रशासकीय अधिकृतसम्म पुगेका रिमालको निजामती यात्राले जोकोहीलाई हौसला र प्रेरणा प्रदान हुन्छ ।
स्कूले जीवन
त्यो बेला विद्यालयको परिवेश समेत त्यति सहज हुँदैन्थ्यो । घण्टौं लगाएर डाँडा र थुम्का पार गर्दै विद्यालय जानुपर्ने बाध्यता थियो । तेह्रथुम जिल्लामा जन्मिएका रिमाल आफ्नो स्कूले जीवन कष्टकर भएको स्मरण गर्छन् । विद्यालय पुग्न दिनमा करीब २ घण्टा हिँड्नुपर्ने बाध्यता रहेको उनी सम्झिन्छन्, फर्किंदा पनि उत्तिकै समय लाग्ने गथ्र्यो । घरमा बिहानको खाना खाएर हिँडेकोमा अर्को चोटी खाना खान घर नै आइपुग्नुपथ्र्यो । हिउँद महिनाभन्दा बर्खामा विद्यालय जान कठिन भएको उनी बताउँछन् ।
भन्छन्, ‘गाउँमा बर्खे खोला ज्यादा भएकाले हिउँदमा खोला तर्न सके पनि बर्खामा अत्यन्तै कष्ट हुन्थ्यो, धेरै माथि मुहानको छेउमै गएर मात्र खोला तर्न सकिन्थ्यो ।’ यसरी विद्यालयमा अध्ययन गरेर घरको काम सघाउँदै उनले विक्रम संवत् २०४६ सालमा श्रीशंकर उच्च माविबाट एसएलसी उत्तीण गरे । मावि विद्यालय त घरबाट त्यति टाढा थियो, कलेज पढ्नलाई घर छाड्नुपर्ने बाध्यता आयो । त्यसपछि उनले म्याङलुङ गएर भाडामा बसी म्याङलुङ बहुमुखी क्याम्पसबाट मानविकी संकायमा आईए उत्तीर्ण गरे ।
त्यसपछि विभिन्न कारणले गर्दा परिवारमा आर्थिक समस्या आएको उनी बताउँछन् । त्यसपछि उनले आफ्नै जिल्लाको तेह्रथुम बहुमुखी क्याम्पसमा आएर बीएमा भर्ना गरे । तेह्रथुम बहुमुखी क्याम्पसबाट नै २०५४ सालमा बीए उत्तीर्ण गरेपछि विराटनगरमा एमएमा भर्ना भए पनि पारिवारिक कारणले अध्ययन जारी राख्न नसकेको उनी बताउँछन् । उनी भन्छन्, ‘मेरो घरमा आमा मात्र हुनुहुन्थ्यो, दाजुदिदीले आ–आफ्नो व्यवहार हेर्ने गर्थे ।’ त्यति नै बेला उनको विवाह समेत भएको थियो ।
निजामती सेवाको यात्रा
उनको चाहना सुरुमा निजामती क्षेत्रमा लाग्ने थिएन । बनारस गएर संस्कृत विषय अध्ययन गर्ने रहर भएको उनी बताउँछन् । त्यो सपना पूरा नहुने भएपछि उनले अंग्रेजी विषय लिएर पढ्ने सोच बनाएका थिए । जिल्लामा ऐच्छिक अंग्रेजी विषय नभएपछि उनको त्यो सपना पनि पूरा हुन सकेन । त्यसपछि उनले विवाह गरेका थिए । विवाह गरेर बालबच्चा भएपछि आम्दानीको स्रोत जुटाउनुपर्ने बाध्यता आइपरेको उनी बताउँछन् ।
त्यसपछि आफूले सोचेको रुचि पूरा नहुँदा अलमलमा परेको उनी बताउँछन् । संयोग आफू जन्मिँदै घर छाडेर हिँडेका दाजु निजामती कर्मचारी भएका रहेछन् । दाजुले ‘लोक सेवामा नाम निकाल्न सक्दा राम्रो हुन्छ’ भनेर सल्लाह दिए अनुसार आफू निजामती क्षेत्रमा लागेको उनी स्मरण गर्छन् तर त्यसबेलासम्म पनि लोक सेवा कस्तो हुन्छ भनेर थाहा नभएको उनले बताए ।
‘त्यसपछि लोक सेवाको किताब किनेर हेर्दा सजिलो जस्तो लाग्यो,’ उनी स्मरण गर्छन् । विद्यालयमा पढ्दादेखि नै म हाजिरी जवाफ प्रतियोगितामा सधैं प्रथम हुने गर्थे । २०५४ सालमा बीए उत्तीर्ण गरेर एमएको तयारी गरे पनि उनले पढाइलाई निरन्तरता दिन नसकेपछि २०५५ सालमा लोक सेवाको तयारी थालेका थिए । उनले धनकुटा आएर खेतीपाती गर्दै लोक सेवाको सामान्य तयारी गरेका थिए । २०५५ सालमा खुलेको लोक सेवा आयोगको न्यायिक सेवाको खरिदार पदमा उनले परीक्षा दिएका थिए । उनी पहिलो प्रयासमै नाम निकाल्न सफल भए तर अन्तर्वार्तामा उनी पास हुन सकेनन् । त्यसपछि यति कम मेहनत गर्दा त नाम निस्किने रहेछ भने झन् मेहनत गरेर पढ्दा जस्तोसुकै कठिन परीक्षा पनि पास गर्न सकिन्छ भन्ने लागेको उनी बताउँछन् ।
त्यसको केही समयपछि खरिदारभन्दा एक तह तल्लो पद मुखियामा जागिर खुलेपछि २०५६ साउन महिनामा उनी मुखिया पदमा नाम निकाल्न सफल भए । उनको पदस्थापन सिराहामा भएको थियो । उनले ७ महिना सिराहामा काम गरे । सोही बेला नायब सुब्बाको आवेदन माग भयो, उनले पनि नायब सुब्बाको आवेदन दिए । उनले २०५६ सालको माघ महिनामा नायब सुब्बाको परीक्षा दिएका थिए । उनले त्यसबेला प्रशासन र हुलाक गरी २ ठाउँमा नाम निकाल्न सफल भए ।
त्यसबेला उनले हुलाकको नासु बन्ने विचार मात्र गरेनन्, हुलाकमा जागिर सुरु गरे । उनको नासुको पोस्टिङ खोटाङको हुलाक कार्यालयमा भएको थियो । खोटाङमा डेढ वर्ष कार्यसम्पादन गरिसकेपछि उनको सरुवा धनकुटामा भएको थियो । त्यसपछि उनको सरुवा काठमाडौंको गोश्वारा हुलाक कार्यालयमा भएको थियो । उनले काठमाडौंमा काम गर्ने क्रममा एमए पनि उत्तीर्ण गर्ने मौका पाए । उनले त्यस क्रममा विभिन्न लोक सेवा परीक्षा दिएर धेरैपटक लिखितमा पास भए पनि अन्तर्वार्तामा सफल भएनन् । उनी २०६५ सालमा अधिकृतमा नाम निकाल्न सफल भए । २०६५ सालको माघमै नाम निकालेका उनले २०६६ सालको भदौमा मात्रै अन्तर्वार्ता दिन पाएका थिए । अधिकृत बनेपछि उनको ताप्लेजुङको जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा पोस्टिङ भयो । ताप्लेजुङमा १ वर्ष बसेपछि उनको सरुवा मोरङ जिल्ला प्रशासन कार्यालयमा भएको थियो । त्यहाँ २ वर्ष बसेपछि फेरि उनको सरुवा ईलाका प्रशासन कार्यालय दमकमा भयो ।
त्यसपछि उनी मालपोत कार्यालय खोटाङमा सरुवा भए । उनी खोटाङको मालपोत कार्यालयमा धेरै दिन बस्न सकेनन् । त्यसपछि गृह मन्त्रालयअन्तर्गत ओखलढुंगाको सहायक प्रमुख जिल्ला अधिकारी भएर करीब ३ वर्ष काम गरेर उनको सरुवा ईलाका प्रशासन कार्यालय उर्लाबारीमा भयो । फेरि उनको सरुवा ईलाका प्रशासन कार्यालय दमकमै भयो । दमकमा रहँदा उनको उपसचिवमा बढुवा भएको थियो । हाल उनी अर्जुनधारा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत छन् ।
आर्थिक चुनौती वा सहजता
नेपाल सरकारले दिएको तलब सुविधाले बाँच्न कठिन हुन्छ । एउटा देश र जनताको सेवा गर्ने मान्छेले अनैतिक क्रियाकलाप गर्न सक्दैन । निजामती कर्मचारी हुने जुन होड थियो, त्यो खस्किँदै गएको छ । अहिले मान्छेमा पैसाको महत्त्वाकांक्षा बढेको पाइन्छ, त्यसैले पनि सरकारी तलब–सुविधाले पुग्दैन । कर्मचारीलाई उपलब्ध गराइनुपर्ने सेवा, सुविधा र सहुलियतमा आवास, स्वास्थ्य, पोषण र शिक्षा, आराम, बिदा, सञ्चय कोष, बिमाजस्ता विषयको उचित कार्यान्वयन र नियमन नभएको उनी बताउँछन् । भन्छन्, ‘व्यापार गरेको भए आज यति दुःख हुने थिएन ।’
कर्मचारीतन्त्र प्रतिको बुझाइ
कर्मचारीतन्त्र स्थायी सरकार हो । एउटा राज्यलाई चलाउन चाहिने कानून, कर्मचारी, निर्वाचित प्रतिनिधि आदिबाट आएका कुराको सही समायोजन गर्नु नै कर्मचारीतन्त्रको हो । कर्मचारीतन्त्रप्रति पहिला जति विश्वास हुन्थ्यो, अहिले प्रश्न उठ्न थालेको छ । कर्मचारी शासक भए भन्ने आरोप जनताको छ, यसलाई चिर्न सकिएन भने देशको हालत झन् खराब हुन्छ । समयमा काम नगरेको आरोप पनि कर्मचारीलाई लाग्ने गरेको छ, यो आरोप लाग्नु स्वाभाविक पनि हो, कर्मचारीतन्त्रलाई कानूनले बाँधेको हुन्छ । कर्मचारीतन्त्रमा कतिपय नियम पनि कार्यात्मक नभएको अवस्था छ । निजामती क्षेत्रमा मान्छे जुन उत्साह र उमंगका साथ लाग्ने गर्छन्, भित्र सोचेजस्तो सजिलो वातावरण नभएको उनी बताउँछन् । आज–भोलि स्थानीय तहमा काम गर्न झन् अप्ठ्यारो छ, कसैको बारेमा केही बोल्दा पनि विभिन्न धम्की आउँछन् ।
काम र परिवारमा सन्तुलन
निजामती कर्मचारीको जीवन नेपाल सरकारको काम गर्दागर्दै व्यतित हुने गर्छ । काम गर्दा कहिलेकाहीँ राति पनि भन्न नपाइने उनी बताउँछन् । निजामती कर्मचारीले आफूले चाहेको बेलामा आफ्ना इच्छा पूरा गर्न सक्दैन । परिवारलाई समय पनि दिन नसकिने उनी बताउँछन् । जागिरे जीवन र परिवार सन्तुलनमा राख्न परिवारको पनि उत्तिकै भूमिका र महत्त्व रहने भए पनि निजामती कर्मचारीलाई यसमा चुनौती रहेको उनको अनुभवले बताउँछ ।
निजामती क्षेत्रमा आउन चाहनेलाई सुझाव
हामीले एकदमै विशुद्ध राष्ट्रको सेवा गर्न यस क्षेत्रमा प्रवेश गर्ने हो । एउटा राष्ट्रको सेवा गर्ने अठोट जसले लिएर काम गर्न सक्छ, उसलाई निजामती क्षेत्र एकदम उत्कृष्ट थलो हो । निजामती कर्मचारीले जस्तोसुकै परिस्थितिमा पनि काम गर्न सक्नुपर्छ । सरकारले दिएको सेवासुविधा थोरै कम होला तर पनि कर्मचारी सन्तुष्ट भए मात्र उसले देश र जनताको पक्षमा काम गर्न सक्छ ।