काठमाडौं । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान ९नाथम०को विज्ञ टोलीले झापाका तीन वटा जातिको रैथाने खानाको अध्ययन गरेको छ ।
पर्यटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको प्रतिष्ठानबाट रैथाने खानाको अध्ययनका लागि पर्यटन विज्ञ डा आलोक प्रसाइँको नेतृत्वमा चार सदस्यीय टोली झापा आएको हो ।
उक्त टोलीले झापामा पहिलो चरणमा राजबंशी, सन्थाल र जोगी समुदायको जातीय रैथाने खानाको पहिचान गर्ने टोली प्रमुख डा प्रसाइँले जानकारी दिए । उनका अनुसार मेचीनगर नगरपालिकाको बाहुनडाँगीमा जोगी समुदाय, झापा गाउँपालिकामा सन्थाल समुदाय र कचनकबल गाउँपालिकामा राजबंशी समुदायको रैथाने खानाको खोज तथा अनुसन्धान गरेको छ ।
नेपालमा रहेका एक सय ४२ जातिकै रैथाने खानाको अध्ययन गर्ने लक्ष्य लिएको प्रतिष्ठानले कात्तिक महिनाभित्र पहिलो चरणमा ४० वटाभन्दा बढी जातिको खानाको पहिचान गरिसक्ने भएको छ ।
बागमती प्रदेशको १३ वटा, गण्डकी प्रदेशका १२ वटा र मधेस प्रदेशको आठ वटा जातिको रैथाने खानाको पहिचान भइसकेको उनले जानकारी दिए । हाल टोलीले कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर, इलाम र झापाको केही जातिको रैथाने खानाको अध्ययन गरिरहेको छ । झापाका आदिवासी जातिमध्ये राजबंशी र सन्थालको मौलिक संस्कृति, संस्कार र खाना लोपोन्मूख अवस्थामा पुगिसकेको छ । आधुनिक खानाका परिकारले रैथाने खानालाई लोप हुने अवस्थामा पुर्याएका छन् । राजबंशी जातिको भाकालगायतका रैथाने खाना निकै लोकप्रिय मानिन्छ ।
यस्ता खानेकुरा स्वस्थवद्र्धक र स्वादिला हुने गरेका छन् । टोलीले समुदायको घर आँगनमै पुगेर रैथाने खानाको अध्ययन गरिरहेको मेचीनगर वडा नं ४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए । मेचीनगर नगरपालिका–४ जोगीडाँडामा जोगी समुदायको ४२ परिवारको बसोबास रहेको र उनीहरुको परम्परागत मौलिक खानेकुरा हराउँदै गएकोमा वडाध्यक्ष कार्कीले चिन्ता व्यक्त गरे।
अध्ययन टोलीले समुदायका ज्येष्ठ नागरिकसँग ६० वर्षअघिको खानाबारे विस्तृतमा सोधपुछ गरेर त्यसको स्वाद, बनाउने तरिका र उपयोगिता बारेमा जानकारी लिने गरेको टोलीका प्रमुख डा प्रसाइँले बताए । नेपाली जातीय रैथाने खानाको पहिचान गरेर किताब प्रकाशित गर्ने र त्यसलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा ब्राण्डिङ गरेर होटलको खाना सूचीमा समावेश गर्न लगाउने योजना रहेको उहाँले जानकारी दिए ।