काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि काञ्जी हाउस सञ्चालनमा ल्याएको छ ।
महानगरपालिकाका विभिन्न स्थानका सार्वजनिक ठाउँबाट नगर प्रहरी बलबाट खटिएका प्रहरीले बाच्छाबाच्छी संकलन गरेर दक्षिणकाली नगरपालिका–७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा पुर्याएका छन् ।
काठमाडौंका सडक, नदी किनारा, पार्क, चउर, चोक, मठमन्दिरजस्ता सार्वजनिक ठाउँमा छाडा चौपाया भेटिने गरेका छन् । यस्ता बेवारिसे चौपायाको संरक्षण र व्यवस्थापन गर्ने दायित्व पूरा गर्दै महानगरपालिकाले काम थालेको छ ।
सडकमा भोक लाग्दा खान नपाउने, तिर्खा लागेका बेला पानी नपाउने, रोग लाग्दा उपचार नपाउने चौपायाले अब यस्तो अवस्था भोग्नु नपर्ने महानगरले जनाएको छ ।
चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइएको छ । हेरचाह गर्न स्थानीय २ जनालाई दैनिक ज्यालादारीमा जिम्मेवारी दिइएको छ ।
काञ्जी हाउस सञ्चालन गर्न २०७८ फागुन ३ गते काठमाडौं महानगरपालिका र दक्षिणकाली नगरपालिकाबीच सम्झौता भएको थियो ।
सम्झौता हुनुअघि यो ठाउँमा मिलीजुली पशुपालन समूहले पशुपालन गर्दै आएको थियो । प्रदेश सरकार र दक्षिणकाली नगरको सहयोग लिएर केही टहरा सहितको पूर्वाधार, त्यस क्षेत्रमा पुग्ने बाटो, बिजुली पानी लगायतका सुविधा व्यवस्था गरेर थालिएको पशुपालन कोभिड लगायत समस्याबाट नियमित हुन सकेन । यही ठाउँको पूर्वाधार निर्माणमा लागेको खर्च फिर्ता गरेर स्थान सञ्चालन गर्ने शर्तसहित सम्झौता भएको जनाइएको छ ।