ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाल दुरुपयोग हुँदा कूलत बढेको बताएकी छन् ।
ललितपुरको गोदावरी नगरपालिका–१४ फूलचोकी माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष दिलबहादुर श्रेष्ठ, सदस्यहरू वुद्धिबहादुर श्रेष्ठ, हरिबहादुर मुल्मी, न्हुच्छेदास नापित र कृष्णबहादुर श्रेष्ठको सालिक अनावरण तथा विद्यालय स्मारिका लोकार्पण कार्यक्रममा मन्त्री शर्माले सूचना र प्रविधिको ठीक तरिकाले प्रयोग गर्न नसके गुणात्मक विकास गर्न नसकिने बताइन् ।
‘वर्तमान युग सूचना प्रविधिको हो । सामाजिक सञ्जालको ठीक प्रयोग गर्न सक्दा आयआर्जन गर्न सकिन्छ । सूचना र प्रविधिको ठीक तरिकाले प्रयोग गर्न सकेनौं भने गुणात्मक विकास गर्न सक्दैनौं । सामाजिक सञ्जालको दुरुपयोग बढेको छ । बालबालिका त्यसको सिकार भएका छन्, यही कुरालाई ध्यान दिएर सामाजिक सद्भाव कायम राख्नका लागि सामाजिक सञ्जाललाई व्यवस्थित गर्न मन्त्रिपरिषद्ले निर्देशिका पारित गरिसकेको छ,’ मन्त्री शर्माले भनिन् ।
विद्यालयलाई आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि र शिक्षा क्षेत्रको विकासका लागि आवश्यक सहजीकरण समन्वय गर्न तयार रहेको बताउँदै मन्त्री शर्माले प्रविधिको क्षेत्रमा गर्नुपर्ने कामका लागि प्रस्ताव लिएर आउन आग्रह गरिन् ।
संविधानले १२ कक्षासम्मको शिक्षालाई निःशुल्क र आधारभूत शिक्षाको रूपमा परिभाषित गरेको बताउँदै मन्त्री शर्माले सामुदायिक विद्यालयको स्तरोन्नति गर्दै सबैलाई गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने अवसर सिर्जना गर्न सबै मिलेर लाग्नुपर्ने बताइन् ।
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले २०७४ सालमा निर्वाचित भएर आउँदा सामुदायिक विद्यालयको अवस्था नाजुक रहेको सम्झना गर्दै अनुदान दिएर सामुदायिक विद्यालयको स्तरोन्नति गरेर नतिजामा सुधार ल्याउन प्रयास गरेको बताए ।
‘विक्रम संवत् २०७४ सालमा निर्वाचित भएर आउँदा सामुदायिक विद्यालयको अवस्था नाजुक थियो । हामीले स्थानीय तहबाट अनुदान दिएर सामुदायिक विद्यालयको स्तरोन्नति गर्नुपर्छ भन्ने उद्देश्यका साथ नगरपालिकाभित्रका सबै विद्यालयलाई सुधार गर्न लाग्यौं, जसले सुधार आउन थाल्यो । अहिले पनि नतिजामा सुधार भइरहेको छ,’ नगर प्रमुख महर्जनले भने ।
गुणस्तरीय शिक्षा दिइरहेको अवस्थामा नगरपालिका भित्रका विद्यालयमा पूर्वाधारको अवस्था सुधार गर्नुपर्ने आवश्यक रहेको उल्लेख गर्दै प्रमुख महर्जनले पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षक र अभिभावकको चासो बढेको प्रष्ट पारे ।