काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग विभागकी शाखा अधिकृत र कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूमाथि साेमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हाे ।
उद्योग विभाग, औद्योगिक सम्पत्ति शाखा त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी (करार) दिपा थापाले कम्पनीको ट्रेडमार्क दिन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगले उनीहरूलाई नियन्त्रणमा लिएकाे थियाे।
उनीहरूलाई सेवाग्राहीबाट बाह्र हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हाे ।
निज कुमारी तारा घिमिरे र दिपा थापालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा निजहरूलाई बिगो बाह्र हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिइ मुद्दा दायर गरिएकाे छ ।




























