काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् नै राष्ट्रिय संवत् भएकाले सरकारको दस्तावेजमा लेख्ने बताएका छन् ।
साहित्यकार पद्मरत्न तुलाधरको पाँचौं स्मृति दिवसलाई आज शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘अब नेपाल संवतलाई राष्ट्रिय संवत् भनेर मात्र पुग्दैन, म पहिलोपटक प्रधानमन्त्री हुँदा नेपाल संवतलाई राष्ट्रिय संवतका रूपमा मान्यता दिएको थिएँ ।’
पद्मरत्न तुलाधरले नेपाल संवत् नै राष्ट्रिय संवत् भएको बताएको स्मरण गर्दै उनले त्यसपछि आफूले पहिलोपटक नै प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्बाट नेपाल संवतलाई राष्ट्रिय संवतका रूपमा मान्यता दिएको बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यो घोषणा पनि पद्मरत्नजीसँगै बसेर गरिएको हो, अब नेपाल संवत् ११४४ आउँदैछ, मसँग अस्ति केही प्रतिनिधि आउनुभयो र यही नेपाल संवतबारे कुरा हुँदा त्यसलाई राष्ट्रिय संवत् भनेर मात्रै भएन, व्यवहारमा कार्यान्वयन गर्नुपर्यो, अब राष्ट्रिय संवत् नेपाल सरकारको दस्तावेजमा लेखिन्छ ।’
प्रधानमन्त्री प्रचण्डले लामो संघर्ष र बलिदानबाट प्राप्त गणतन्त्र र लोकतन्त्रमाथि प्रहार भएको उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रणाली लगायत उपलब्धिको रक्षा गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।