काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले टिकटकलाई प्रतिबन्ध लगाउनु कुनै पनि हिसाबले उपयुक्त नदेखिएको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै डा. भट्टराईले प्लेट फर्मलाई नियमन गर्नुको साटो बन्द गर्नु उपयुक्त नभएको बताए ।
उनले भनेका छन्, ‘सरकारले एक्कासि एउटा प्लेटफर्म टिकटकलाई मात्र प्रतिबन्ध लगाउनु कुनै पनि हिसाबले उपयुक्त देखिन्न । यसले सरकारको लोकतान्त्रिक आस्था र प्रतिबद्धतामाथि नै गम्भीर प्रश्न उठाउन सक्छ र प्रत्युत्पादक हुनसक्छ ।’
सुरुमा कुनै पनि प्रकारको प्रविधिको दुरुपयोग हुने र त्यसलाई राज्य/समाजले विधिसम्मत ढंगले नियमन गर्ने र विधिको पालन नभएमा विधिसम्मत ढंगले नै दण्डित गर्ने स्थापित लोकतान्त्रिक पद्धति भएकोमा नेपालमा पनि केही समयदेखि सामाजिक सञ्जाललाई कतिपय प्रतिगामी, अराजक, उच्छृंखल व्यक्ति/समूहले दुरूपयोग गरेको उनले दाबी गरे ।
राज्यले उपयुक्त कानून/नियम बनाएर तिनलाई नियमन गर्ने र व्यापक जनमत निर्माण गर्ने काम पहिले गर्नुपर्नेमा बन्द गर्न उचित नभएको उनले सुझाव दिए ।
उनले लेखेका छन्, ‘शुरूमा कुनै पनि प्रकारको प्रविधिको दुरूपयोग हुने र त्यसलाई राज्य/समाजले विधिसम्मत ढंगले नियमन गर्ने र विधिको पालन नभएमा विधिसम्मत ढंगले नै दण्डित गर्ने स्थापित लोकतान्त्रिक पद्धति हो । नेपालमा पनि केही समयदेखि सामाजिक सञ्जाललाई कतिपय प्रतिगामी, अराजक, उच्छृंखल व्यक्ति/समूहले दुरूपयोग गरेकै हुन् । राज्यले उपयुक्त कानून/नियम बनाएर तिनलाई नियमन गर्ने र व्यापक जनमत निर्माण गर्ने काम पहिले गर्नुपर्दथ्यो । परन्तु सरकारले एक्कासी एउटा प्लेटफर्म टिकटकलाई मात्र प्रतिबन्ध लगाउनु कुनै पनि हिसाबले उपयुक्त देखिन्न । यसले सरकारको लोकतान्त्रिक आस्था र प्रतिबद्धतामाथि नै गम्भीर प्रश्न उठाउन सक्छ र प्रत्युत्पादक हुनसक्छ । सरकारले तुरून्त यो गल्ती सच्याओस् र सामाजिक सञ्जालको दुरूपयोग गर्ने प्रतिगामी र असामाजिक तत्वहरूलाई निरूत्साहित गर्ने वैकल्पिक लोकतान्त्रिक विधि अपनाओस् ।’