सुर्खेत । जाजरकोट भूकम्पका कारण करीब ३० हजार गर्भवती, सुत्केरी र बालबालिका प्रभावित भएका छन् ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशानालयका अनुसार सुत्केरी, गर्भवती र ५ वर्षमुनिका बालबालिका गरी २९ हजार ९८२ प्रभावित भएका हुन् । सुत्केरी, गर्भवती र ५ वर्षमुनिका बालबालिका बढी प्रभावित भएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रवीन खड्काले जानकारी दिए ।
उनका अनुसार भूकम्पका कारण ५ वर्षमुनिका मात्रै १९ हजार २९६ बालबालिका प्रभावित भएका छन् भने ५ हजार ३४३ स्तनपान गराइरहेका गर्भवती प्रभावित भएका छन् ।
३ हजार ३१७ गर्भवती प्रभावित हुँदा २ हजार २६ स्तनपान गराइरहेका महिला प्रभावित भएको तथ्यांकमा जनाइएको छ । भूकम्पले जाजरकोट र रुकुमपश्चिममा धेरै नागरिक प्रभावित भएका छन् । गर्भवती, सुत्केरी र ५ वर्षमुनिका बालबालिका झनै समस्यामा परेको डा. खड्काले बताए ।
भूकम्पबाट जाजरकोट, रुकुम पश्चिममा र सल्यानमा गरी ४८ स्वास्थ्य संस्थामा क्षति पुगेको छ । सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा धेरै क्षति रुकुमपश्चिममा भएको छ ।
रुकुमपश्चिममा रहेका १११ स्वास्थ्य संस्थामध्ये २४ वटामा क्षति पुगेको छ । जसअन्तर्गत २ वटा पूर्ण रूपमा र २२ वटा आशिंक रूपमा क्षति पुगेको निर्देशक डा. खड्काले बताए । जाजरकोटमा १३३ स्वास्थ्य संस्थामध्ये १८ वटा क्षति भएका छन् । ६ वटा पूर्णरूपमा ध्वस्त भएका छन् भने १२ वटा आशिंकरूपमा क्षति पुगेको छ ।
सल्यानका १५५ स्वास्थ्य संस्थामध्ये ३ वटा पूर्ण र ३ वटा आशिंकरूपमा क्षति भएको उनले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी स्वास्थ्य चौकी ध्वस्त भएको छ ।
स्वास्थ्य सेवा निर्देशनालयको तथ्यांकअनुसार भूकम्पमा परी मृत्यु हुनेमा बालबालिका धेरै रहेका छन् । १८ वर्षभन्दा कम उमेर समूहका ९५ बालबालिकाले भूकम्पमा परी ज्यान गुमाउनु परेको हो ।
अद्यावधिक विवरणअनुसार ५ वर्ष मुनिका मात्रै २४ बालबालिकाको मृत्यु भएको छ, तीमध्ये १४ बालक छन् भने १० बालिका रहेका छन् । १८ वर्षमुनिका र ५ वर्षमाथिका ७१ जनाको मृत्यु भएको तथ्यांकमा जनाइएको छ । तीमध्ये ३७ पुरुष र ३४ महिला रहेको निर्देशक डा. खड्काले बताए ।
मृत्यु भएका अन्य ५८ जना १८ वर्षमाथिका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस क्षेत्रमा विभिन्न प्रकोप फैलिन सक्नेतर्फ आफू सचेत रहेको भन्दै सम्भव भएसम्म स्वास्थ्य सेवा सुचारु गरिएको निर्देशक खड्काले बताए । पानीजन्य रोग लाग्न नदिन भूकम्प प्रभावित क्षेत्रमा पानीको शुद्धता परीक्षण सुरु गरिएको भन्दै उनले त्यहाँ स्वास्थ्यकर्मी खटाइएको जानकारी दिए ।