काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु, हली एवं कृषकको पूजाआजा गरी मनाइएको छ ।
आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानेर पूजा आराधना गरिएको हो ।
द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन रहेको छ ।
कात्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए ।
भगवान् विष्णुको आज्ञा अनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मत्र्यलोकको शासन गर्ने अधिकार बलिराजाले पाएको पौराणिक मान्यता छ । दानमा कहलिएका राजा बलिले नै भलो होस् भनेर भैलो र ‘देउ शिर रे’ भनी देउसी खेल्ने परम्पराको सुरुवात गरेको विश्वास छ । यसै आधारमा आज बलिको पनि पूजा आराधना गरिएको छ ।
प्राचीनकालदेखि नै गोरुले कृषिकर्मका लागि खेत, बारी जोतेर महत्त्वपूर्ण योगदान गर्दै आएको छ । महादेवको वाहनको रूपमा समेत पूजिने गोरु (साँढे) लाई आज पूजा गरी मीठा मीठा खानेकुरा दिए वर्षभर खुसी भएर कृषि कर्ममा सहयोग गर्ने विश्वास छ ।
गोरु जोत्ने हलिलाई पनि पनि आज घरमा बोलाएर टीका दक्षिणासहित मीठा कुरा खान दिइन्छ । यसैले आजको दिनलाई हल तिहार पनि भनिन्छ ।
वर्षभर कृषि कर्म गर्ने कृषकलाई पनि आज पूजा गरी मीठा मीठा खानेकुरा खान दिइएको छ । तिहारमा काग, कुकुर, गाई, गोरु, हलि, कृषकलाई पूजा गर्नुले कामका आधारमा कसैलाई भेदभाव नगरी सबैको महत्त्व रहेको सांस्कृतिक रूपमा अर्थ दिने धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतम बताउँछन् । यसरी वैदिक सनातन धर्मले सबैको महत्त्व भएको दर्शन अंगालेको पनि उनले सुनाए ।