काठमाडौं । तिहारका अवसरमा जुवातास खेलिरहेका ९० जना पक्राउ परेका नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
काठमाडौंबाट १७, कञ्चनपुरबाट ४२, सिन्धुलीबाट ४, डडेलधुराबाट १३, दार्चुलाबाट ७ जना र संखुवासभाबाट ७ जना गरी ९० जना पक्राउ परेका जनाइएको छ ।
काठमाडौंको शंखरापुर नगरपालिका–१ नाङ्लेभारे बस्ने ५० वर्षीय विनानाथ दङ्गालको टहरामा जुवातास खेलिरहेको अवस्थामा दङ्गाल समेत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी नाङ्लेभारेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार ८३५ र १ बुक ताससहित पक्राउ गरेको छ ।
नाङ्लेभारेस्थित शिव मन्दिरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१ ढुङ्गाना गाउँ बस्ने ४२ वर्षीय मधु रमाल समेत ९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । सोही चौकीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ८५५ र १ बुक ताससहित पक्राउ गरेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ बाँसखेडा बस्ने भीमबहादुर ठगुन्नाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१८ बस्ने ४० वर्षीय इन्द्र पाठक समेत २८ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५८ हजार ६९४ र ताससहित पक्राउ गरेको छ ।
भीमदत्त नगरपालिका–१६ मझगाउँस्थित मनोज धानुकको मनोज रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा भीमदत्त–१४ बस्ने ३८ वर्षीय दीनेश खत्री लगायत ६ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले नगद २५ हजार ४६० र तास ५ थानसहित पक्राउ गरेको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिका–६ दुम्लीस्थित गजेन्द्र रानाको गोठमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय रामबहादुर राना समेत ८ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ४० र तास १ बुकसहित पक्राउ गरेको छ ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–६ खाल्टे बस्ने ५० वर्षीय रामे माझीको घरमा जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय खुर्कोटको प्रहरीले उनीहरूलाई नगद २२ हजार ७६०, एक बुक तास र ३३ वटा कौडासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
डडेल्धुराको अमरगढी नगरपालिका–१ मौरडास्थित धर्मराज जोशीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय ओमप्रकाश जोशीसमेत १३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २१ हजार ३७९ र तास २५२ पत्तासहित पक्राउ गरेको छ ।
दार्चुलाको महाकाली नगरपालिका–५ गल्फै बस्ने ३२ वर्षीय केशवदत्त भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा भट्ट लगायत ७ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ३०० र तासको गड्डी ६ थानसहित पक्राउ गरेको छ ।
संखुवासभाको चैनपुर नगरपालिका–३ तीनखोप्रे बस्ने ३६ वर्षीय हर्कमणि कटुवालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५१ वर्षीय प्रेमबहादुर कटुवाल लगायत ७ जनालाई आज दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ३२५ र १ बुक ताससहित पक्राउ गरेको छ । यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान समेत गरिरहेको जनाइएको छ ।