काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।
विभागका अनुसार बुधबार दिउँसो कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै राती कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
विभागका अनुसार भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा आज चिसो बढ्नेछ । दिउँसो कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमलगायत आसपासको क्षेत्र र लुम्बिनी प्रदेशको उत्तर पश्चिमको भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । उक्त क्षेत्रमा अधिकतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना रहेको छ ।
राति कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमलगायत आसपासको क्षेत्र र लुम्बिनी प्रदेशको उत्तर पश्चिमको भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । उक्त क्षेत्रमा राति न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना रहेको विभागले जनाएको छ ।