मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा प्रथम बागमती प्रदेश युवा सम्मेलन–२०८० सुरु भएको छ ।
बागमती प्रदेश युवा परिषद्को आयोजनामा सोमबार मकवानपुरको हेटौडामा सुरु भएको सम्मेलनको बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मुक्तानले उद्घाटन गरेका हुन् ।
युवालाई सामाजिक र सार्वजनिक जीवनमा सहभागी गराउन, नव-प्रवर्तन र उद्यमशीलतामा विकसित गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बागमती प्रदेश युवा परिषद्को कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले त्यस अवसरमा जानकारी दिए ।
1687791984.png)
कार्यक्रममा सम्मेलनको अवधारणा प्रस्तुत गर्दै उनले परिषद्ले प्रदेश युवा नीति–२०७९ तयार पारेपछि प्रदेशमा युवाका लागि काम गर्न आवश्यक सल्लाह, सुझाव संकलन गर्न र अवधारणा निर्माण गर्न पनि सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गरे ।
सम्मेलनको उद्घाटन गर्दै बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मुक्तानले युवा पुस्तामा छाएको निराशालाई व्यवस्थापन गर्नु जरुरी रहेको बताइन् । सुशासन र नवप्रवर्तनको विकास गर्न प्रदेश सरकार चिन्तनशील रहेको उनको भनाई थियो ।

उनले सम्मेलनबाट समस्या पहिचान गर्ने मात्रै नभई युवा वर्गका समस्या समाधानका उपाय पनि खोजी गर्न समेत आग्रह गरेकी छिन् । युवाका समस्या समाधान गर्ने उपाय खोजी गर्न सम्मेलन उपयोगी हुनेमा उनले विश्वास व्यक्त गरे ।
सम्मेलनमा प्रदेशका विभिन्न १३ जिल्लाबाट १ सय ५० युवा सहभागिता रहेको छ । सम्मेलन मंगलबारसम्म चल्नेछ ।
















1687791953.png)









