बाँके । नेपालगञ्जस्थित ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रमा ३३ वर्षदेखि सामूहिक भाइटीका लगाइँदै आएको छ ।
हरेक वर्षको भाइटीकाझै यो वर्ष पनि ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्दकी केन्द्रीय उपाध्यक्ष एवम् नेपालगञ्ज केन्द्र प्रमुख दुर्गा दिदी, उपप्रमुख मुना दिदी र बहिनीहरूले सामूहिक भाइटीका लगाइदिएका हुन् ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र स्थापना भएयता २०४७ सालदेखि नै सामूहिक रूपमा भाइटीका लगाउने कार्य हुँदै आएको केन्द्र प्रमुख दुर्गा दिदीले जानकारी दिइन् । यो वर्ष नेपालगञ्ज केन्द्रमा ३०० बढी दाजुभाइले टीका ग्रहण गरेका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, खजुरा गाउँपालिकाका पूर्व अध्यक्ष किस्मतकुमार कक्षपति, नेपालगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरिलाल न्यौपाने, पूर्व अध्यक्ष नन्दलाल वैश्य लगायत ३०० बढी दाजुभाइले टीका ग्रहण गरेको प्रमुख दुर्गा दिदीले बताइन् ।
खजुरा गाउँपालिकाका पूर्व अध्यक्ष किस्मतकुमार कक्षपतिले करीब १ दशकदेखि आफ्नो दिदीको घरमा टीका नहुँदा ब्रह्माकुमारी दुर्गा दिदीबाट भाइटीकाको टीका ग्रहण गर्ने गरेको बताए ।
दिदीबहिनी नहुने, दिदीबहिनीमा टीका नभएको अवस्था र काम विशेषले घर जान नपाएका दाजुभाइहरू ब्रह्माकुमारी राजयोग केन्द्रमा दिदीबहिनीसँग टीका लगाउने गरेको राजयोग केन्द्रका सूचना अधिकारी कृष्ण भाइले जानकारी दिए ।
यस क्षेत्रका राँझा, कोहलपुर र सम्झना, बाँसगढी लगायतका ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्रमा पनि सामूहिक टीका लगाउने कार्य भएको उनले बताए । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्रमा हिन्दू धर्मावलम्बीका सबैजसो पर्व सामूहिक रूपमा मनाउने कार्य हुँदै आएको उनको भनाइ छ ।