काठमाडौं । तिहारमा तास, लंगुरबुर्जा र जुवा खेलेको अभियोगमा १६५ जनालाई पक्राउ गरिएको छ ।
प्रहरीले उनीहरूका साथबाट ३४ लाख ६२ हजार ८८५ बरामद गरेको छ ।
कात्तिक ११ गतेदेखि आज बिहीबार बिहानसम्म काठमाडौंका १३, ललितपुरका ४ र भक्तपुरका २ स्थानबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले ६९ बुक तास, २० हजारको एक थान चेक समेत बरामद गरेको छ ।
सोही अवधिमा प्रहरीले पटका बेचेको अभियोगमा ८ जनालाई नियन्त्रणमा लिएको थियो । उनीबाट विभिन्न प्रकारका ३० हजार थान पटका बरामद गरिएको थियो । उक्त अवधिमा काठमाडौं उपत्यकामा १४ स्थानमा आगलागी भएको र त्यसबाट ८ करोड ७७ लाख ४५ हजार बराबरको क्षति भएको थियो ।
आगलागीमा परी भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर १ लोकन्थली बस्ने ८२ वर्षीय एक वृद्धको मुत्यु भएको थियो । लक्ष्मीपूजा गर्ने क्रममा आगलागी भएको थियो ।
सोही अवधिमा भएका सडक दुर्घटनामा ७ जनाको मृत्यु र ३३० जना घाइते भएका थियो । करीब १ करोड बराबरको धनमाल चोरी भएको र शंकास्पद ७ जनालाई पक्राउ गरिएको थियो ।
केन्द्रीय प्रहरी समाचार कक्षले जनाएअनुसार कौडा खेलिरहेको अवस्थामा नुवाकोटबाट २१ जना तथा जुवातास खेलेको अभियोगमा सल्ल्यानबाट १३ जनालाई पक्राउ गरिएको छ ।