काठमाडौं । ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिका–२ रामपुरका अग्नि पीडितलाई नेपाल रेडक्रस सोसाइटी ओखलढुंगा शाखा र स्थानीय तहले राहत सामग्री प्रदान गरेका छन् ।
कात्तिक २७ गते बेलुका भएको आगलागीमा रामपुर तल्लोटारका २ परिवारमा भौतिक क्षति भएको थियो । स्थानीय एकबहादुर तोलाङ्गी र उनका भाई मीनबहादुर तोलाङ्गीको घरमा आगो लागेको थियो । तिहारमा बालिएको मैनबत्तीबाट आगो सल्किएको थियो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विकास राईका अनुसार आगलागीमा अन्नपात, भाडाकुँडा जलेको थियो । उनका अनुसार घटनामा करीब १६ लाख ५० हजार रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी ओखलढुंगा जिल्ला शाखाका अध्यक्ष नारायण दाहालको टोलीले आग्निपीडित परिवारलाई राहत सामग्री प्रदान गरेको छ । घटनाको भोलिपल्ट नै दुवै पीडित परिवारलाई रेडक्रस जिल्ला शाखाले त्रिपाल, कम्बल, सुती तथा बुट्टे कपडा, बाल्टी, डोरी र ‘डिग्निटी किट’ प्रदान गरेको थियो ।
मोलुङ गाउँपालिका कार्यालयका सूचना अधिकारी सन्तोष गौतमले पालिकाले पनि राहत सामग्री प्रदान गरेको जानकारी दिए । पालिकाका तर्फबाट पीडित तोलाङ्गी परिवारलाई १–१ बोरा चामल, ५ किलो दाल, २ लिटर तेल, २ केजी नून र कम्बल पनि वितरण गरिएको छ ।