किर्ते कागज गरी ऋण प्रवाह गर्ने वाणिज्य बैंकका प्रबन्धक शाहीलाई ८ वर्ष जेल सजाय

किर्ते कागज गरी ऋण प्रवाह गर्ने वाणिज्य बैंकका प्रबन्धक शाहीलाई ८ वर्ष जेल सजाय

काठमाडौं । किर्ते कागज बनाई ऋण प्रवाह गरेको अभियोगमा पक्राउ परेका राष्ट्रिय वाणिज्य बैंकको नेपालगन्जस्थित त्रिभुवन चोक शाखाका प्रबन्धक ललितकुमार शाही दोषी ठहर भएका छन् । 

विशेष अदालतको आइतबारको इजलासले प्रबन्धक शाहीलाई दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाएको विशेष अदालतले जनाएको छ । शाहीलाई कैदका साथै १ करोड २५ लाख रुपैयाँ जरिवानासमेत हुने भएको छ । शाहीका साथै रिजवान अहमदलाई समेत कैद तथा जरिवाना हुने फैसला भएको छ ।

विशेष अदालतका अध्यक्ष शालिग्राम पौडेल तथा सदस्यहरू शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले यस्तो फैसला गरेको हो । इजलासले १ असारमै कसुर कायम गरे पनि तीन वर्षभन्दा बढी सजाय हुने भएकाले सजाय निर्धारणका लागि आइतबारको पेसी राखिएको थियो ।

विशेष अदालतका अनुसार शाहीका साथै यस मुद्दामा रिजवान अहमद जसगढ पनि दोषी पाइएका छन् । उनलाई विशेषले एक वर्ष ६ महिना कैद सजाय निर्धारण गरेको छ । यस मुद्दाका अन्य ६ प्रतिवादीले भने सफाइ पाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाही र अहमदसमेत ८ जनालाई प्रतिवादी कायम गरी २०७७ पुस १४ गते अनियमितता मुद्दा दायर गरेको थियो । जसमा अढाई वर्षपछि फैसला गर्दै आंशिक कसुर ठहर हुने अदालतले निर्णय गरेको हो । 

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको त्रिभुवन चोकस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखाका प्रबन्धक शाहीसमेतका कर्मचारीले किर्ते कागजातको आधारमा किर्ते धितो मूल्यांकन गरी कर्जा प्रवाह गरेको पाइएको थियो । यसबाट सरकारी सम्पत्तिको नोक्सानी भएको ठहरसहित अख्तियारले मुद्दा चलाएको थियो । तर विशेष अदालतले भने आंशिक ठहर हुने फैसला गरेको छ ।