काठमाडौं । स्थानीय पालिकाहरूले आफ्नो नीति तथा कार्यक्रममा विभिन्न रोचक तथा नयाँ कार्यक्रम ल्याएका छन् । उनीहरूले आफ्नो पालिकामा मान्छेहरू आकर्षित गर्न विभिन्न नयाँ योजना समेत ल्याएका छन् ।
विशेषगरी पहाडी जिल्लाका केही पालिकाले बसाइँ सरेर आउने व्यक्ति तथा परिवारका लागि आकर्षक योजना ल्याएका छन् । जसअन्तर्गत उनीहरूले नगद दिने, दुहुनो गाई उपहार तथा घर उपहारका रुपमा दिने योजना समेत ल्याएका छन् ।
यसैक्रममा ओखलढुंङ्गाको सुनकोशी गाउँपालिकाले बसाइँ सरी आउनेलाई दुहुनो गाई उपहार दिने योजना ल्याएको छ । गाउँपालिकाको बजेटमा बसाइँ सरेर आउने परिवारलाई ३० हजार बराबरको दुहुनो गाई उपहार दिने घोषणा गरेको हो ।
गाउँपालिका अध्यक्ष कमल तामाङले गाउँ सभामा प्रस्तुत गरेको बजेटमा बसाइँसराइ रोक्न युवालाई स्वरोजगार बनाउने कार्यक्रमहरू नीति तथा कार्यक्रममा ल्याएको बताएका छन् ।
त्यस्तै मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसाइँसरी आउनेलाई आगामी वर्षबाट घर दिने योजना ल्याएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा गाउँपालिकाले अन्यत्रबाट गाउँपालिकाभित्र बसाइँ सरी आउन आकर्षित गर्न 'सुन्दर समाज हाम्रो सार, बसाइँ सरी आउनेलाई घर उपहार' कार्यक्रम सञ्चालन गरिने उल्लेख रहेको छ । गाउँपालिकाले दिने घर कस्तो हुने भन्ने विषयमा कार्यविधिमा उल्लेख गर्ने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।
त्यसैगरी खोटाङको साकेला गाउँपालिकाले बसाइँ सरेर आउने परिवारलाई नगदसहित सम्मान गर्ने योजना ल्याएको छ । गाउँपालिकाले बजेटमार्फत बसाइँ सरेर आउने परिवारलाई सम्मान स्वरूप पाँच हजार रकम उपलब्ध गराउने नीति ल्याएको हो ।
गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले पछिल्लो समय जनसंख्या ऋणात्मक हुँदै गएकोले गाउँपालिकाबाट बसाइँसराइ रोक्ने र आउनेलाई सम्मान गर्ने योजना अगाडि बढाएको बताए ।