काठमाडौं । बंगलादेशमा आएको ‘मिधिली’ चक्रवातको प्रभावका कारण ७ जनाको मृत्यु भएको छ ।
चक्रवातले शुक्रबार दिउँसापछि बंगलादेशको तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको होे ।
राजधानी ढाकाबाट करीब ४०० किलोमिटर दक्षिण पूर्वमा पर्ने कक्स बजार जिल्लामा भारी वर्षाका कारण माटोको घरको पर्खाल भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु भएको स्थानीय सरकारी स्रोतले जनाएको छ ।
दक्षिणपूर्वी चट्टोग्राम र मध्य टाङ्गेल जिल्लामा रूखले किचेर थप ३ जनाको मृत्यु भएको छ ।
आँधीले तटीय जिल्लाहरूमा बालीनालीमा क्षति पुर्याएको छ भने दशौं हजार मानिसलाई सुरक्षित आश्रयस्थलमा सारिएको छ ।
बंगलादेशको तटीय क्षेत्रमा शुक्रबार भीषण हावाहुरीका कारण बिजुलीका खम्बा उखेलेपछि विद्युत् आपूर्ति बन्द भएको छ ।
चक्रवातले अनुमान गरेभन्दा छिटो भूस्खलन गरेका कारण माझीहरूलाई सुरक्षित आश्रयस्थलमा फर्किन पर्याप्त समय व्यवस्थापन गर्न नसक्दा अनुमानित ३०० मछुवाहरू देशको दक्षिण पश्चिममा रहेको सुन्दर वनमा आश्रय लिन बाध्य भएको विश्वास गरिएको छ ।
स्थानीय अंग्रेजी पत्रिका न्यू एजले शनिबार प्रकाशित गरेको एक रिपोर्टमा ‘बरगुना डिस्ट्रिक्ट फिसिङ ट्रालर ओनर्स एसोसिएसन’का अध्यक्ष गोलम मोस्तोफा चौधरीलाई उदृत गर्दै भनिएको छ, ‘३०० जना मछुवा बोकेका २५ वटा माछा मार्न प्रयोग गरिने साना डुंगा गन्तव्यसम्म फर्केका छैनन् ।’