भक्तपुर । सामाजिक सद्भाव एवं एकताको पर्वका रूपमा भक्तपुरमा मनाइने छठपर्वका अवसरमा पूजा गरी मनाइँदैछ ।
छठपर्वका तयारीमा भक्तपुरका पोखरी र खोला सिंगारिएका छन् ।
तराई मधेशबाट आएर भक्तपुरमा विभिन्न पेशा, व्यवसाय गर्दै स्थायी तथा अस्थायी रूपमा भक्तपुरमा बस्दै आएकाले भक्तपुरको कमलपोखरीमा छठ मनाउँदै आएका छन् ।
भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरीमा १५० भन्दा बढी परिवारले छठपर्व मनाउने गरी पोखरी सिंगारेको, मूर्ति ल्याएर राखिएको र पूजाको तयारी पूरा गरेको छठपर्व तयारी समिति भक्तपुरका व्यवस्थापक लक्ष्मण रौनियारले जानकारी दिए । छठपर्वका लागि यहाँका स्थानीयले सहयोग गरेको उनले बताए ।
छठपर्वको अवसरमा आज आईतबार साँझ अस्ताउँदो सूर्य र भोलि सोमबार सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि विधिवत्रूपमा समापन हुने उनले जानकारी दिए । रौनियारले भने, ‘तराई मधेशबाट बसाइँ सरेर आउनुभएका, विभिन्न पेशा, व्यवसायले भक्तपुरमै बस्दै आउनुभएका जडीबुटीबाट भक्तपुरसम्मका १५० भन्दा बढी परिवारका लागि छठ मनाउने गरी तयारी पूरा गरेका छौं । छठपर्वका लागि यहाँको पोखरी सिंगारेका छौं, मूर्ति ल्याएर स्थापना गरेका छौं । पोखरी झकिझकाउ भएका छन् ।’
सूर्यलाई अघ्र्य दिन भक्तपुरको कमलविनायकस्थित कमलपोखरी किनारा सिंगारिए पर्वको तयारी गरिएको छ । तराईका वासिन्दाले यो पर्व मनाउने भए पनि पहाड एवं भक्तपुरका वासिन्दाले समेत छठपर्वलाई सहयोग गर्दै आएका छन् ।
आराध्यदेव सूर्य र ब्रह्माजीका मानसपुत्री छठी (षष्ठी)को उपासना गरी आज जलाशय, नदी किनारमा व्रत बसी धुमधामले छठपर्व मनाइँदैछ । छठको मुख्य दिन आज कात्तिक शुक्ल षष्ठीको अवसरमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभर जाग्राम बसी भोलि सप्तमीको दिन बिहानको उदाउँदो सूर्यको उपासना गरी अघ्र्य दिएपछि यो पर्व सम्पन्न हुने उनले बताए ।