काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले वर्षायाममा बिजुलीको उत्पादन घटाउन भनेपछि स्वतन्त्र ऊर्जा उत्पादकहरूले विरोध जनाएका छन् ।
उनीहरूले प्राधिकरणका कारण ३० जलविद्युत आयोजनाको ५०० मेगावाट विद्युत् खेर गएको दाबीसमेत गरेका छन् ।
प्राधिकरण र ऊर्जा उत्पादकहरूबिच वर्षायाममा १० प्रतिशतसम्म लोड घटाउन भन्न सक्ने उल्लेख हुने गरेको छ । सोही आधारमा प्राधिकरणले वर्षायाममा बढी उत्पादन हुने र खपत हुन नसकेर खेर जाने भएकाले बिजुली उत्पादन घटाउन भनेको छ । तर प्रसारण लाइनको क्षमता हुँदाहुँदै पनि प्राधिकरणले उत्पादन घटाउन लगाएको आरोप लगाउँदै प्राधिकरणविरुद्ध अदालत जान परे पनि जाने इप्पानले जनाएको छ ।
सोमबार काठमाडौंमा आयोजित एक छलफल कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले विद्युत् प्राधिकरणको नाफा थोरै घट्दा केही फरक नपर्ने तर, एउटा विद्युत् आयोजना डुब्दा त्यसको असर धेरै ठाउँमा पर्ने बताए । प्राधिकरणले ‘टेक अर पे’ भनेर विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरिसकेपछि आयोजना बन्द भए पनि त्यसको पैसा दिनुपर्ने कार्कीको भनाइ छ ।
विद्युत् प्राधिकरण स्रोतका अनुसार कतिपय स्थानमा उत्पादकहरू आफैँले र कतिपय स्थानमा प्राधिकरणले पूर्वाधार बनाउन नसकेका कारण रातिको समयमा कुनै दिन अधिकतम १०० मेगावाटसम्म बिजुली उत्पादन गर्न सकिएको छैन । साथै बाढीले क्षति पुर्याएको र प्राविधिक समस्या आएका कारण पनि बिजुली उत्पादन प्रभावित भएको छ ।
२५ मेगावाटको काबेली बी वान, ९.९४ मेगावाटको काबेली बीवान क्यासकेड, ९.९ मेगावाटको इवा खोला, १४.९ मेगावाटको हेवाखोला ए, २२ मेगावाटको लोवर हेवामा बाढीले क्षति पुर्याउँदा ८१।७४ मेगावाट बिजुली उत्पादन हुन सकेको छैन ।
यस्तै ७.५ मेगावाटको अपर खोरुङको एउटा युनिटमा समस्या आएर ३.५ मेगावाट मात्र बिजुली उत्पादन भइरहेको छ । ८६ मेगावाटको सोलु दूधकोशीबाट पनि एउटा युनिटमा समस्या आएर २८.६ मेगावाट मात्र उत्पादन भइरहेको छ । २७ मेगावाटको दोर्दीबाट १८ मेगावाट र घलेम्दीको पेनस्टकमा समस्या आएर ५ मेगावाट बिजुली पनि उत्पादन हुन सकेको छैन ।