कास्की । गण्डकी प्रदेशको राजधानी शहर पोखरामा मंसिर ७–१५ गतेसम्म सञ्चालन हुने ‘केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट’ प्रतियोगितामा १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्रतियोगिता आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा ७्र प्रदेशका ७ टीम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीका २ गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
एकेडेमीका संरक्षक समेत रहेका पूर्व प्रधानमन्त्री ओलीको सम्मानमा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता गर्न लागिएको एकेडेमीका अध्यक्ष धुव्र आचार्यले बताए । प्रतियोगिताको च्याम्पियन टोलीलाई ५ लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।
उपविजेता टोलीलाई २ लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने अध्यक्ष आचार्यले जानकारी दिए ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नियमानुसार खेलाइने प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद ३० हजार, ‘बेस्ट बलर’ २० हजार र ‘म्यान अफ द म्याच’ ले नगद ५ हजार पुरस्कार पाउनेछन् । खेल सम्पन्न गर्नका लागि ७५ लाख खर्च लाग्ने र विभिन्न व्यापारिक प्रतिष्ठान, स्थानीय सरकारबाट सहयोग संकलन गरिएको आयोजकले जनाएको छ ।
पोखरामा हुने क्रिकेटको राष्ट्रियस्तरको प्रतियोगिताले नयाँ खेलाडी उत्पादन तथा खेल कौसल प्रदर्शनका लागि सहयोग पुग्ने बताइन्छ । एकेडेमीले खेल पर्यटनलाई आधार बनाइ उत्पादन रोजगार र समृद्धिको यात्रामा समाजका हरेक क्षेत्रमा प्रतिस्पर्धाको आधारमा श्रेष्ठता हासिल गर्नुपर्छ भन्ने मदनको विचारलाई आत्मसात गर्दै आएको अध्यक्ष आचार्यको भनाइ छ ।