काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का र शरदसिंह भण्डारी गैर आवासीय नेपाली सङ्घ एनआरएनले ओमनमा आयोजना गर्ने आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनमा सहभागी हुन् ओमन प्रस्थान गर्दै छन्।
जुन २८देखि ३० सम्म हुने सम्मेलनको तयारी पूरा भएको मध्यपूर्व संयोजक राजेन्द्र अर्यालले जानकारी दिएका छन्। सम्मेलनमा ५०० भन्दा बढीको प्रतिनिधित्व रहनुको साथै ‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने मूल नारासहित गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन हुने भएको हो ।
सम्मेलनमा नेपाली राजदूतहरू र गैरआवसीय नेपाली सङ्घ आइसिसीका अध्यक्षसहित, बैंकर, व्यवसायीहरू तथा अन्य पदाधिकारीको सहभागिता रहनेछ। सम्मेलनमा साउदी अरेबिया, कतार, युएई, बहराइन, ओमन, कुवेत, इराकलगायतका राष्ट्रिय परिषद्हरूको सहभागिता हुनेछन् ।
सम्मेलनको उद्देश्य मध्यपूर्वमा रहेका नेपाली श्रमिकका सवाल, राष्ट्रिय अर्थतन्त्रमा ओझेलमा परेको उनीहरूको योगदान, श्रमिक र उनीहरूका परिवारको जीवनमा तात्त्विक परिवर्तन हुन नसकेको परिस्थिति, वैदेशिक रोजगारीको सामाजिक र पारिवारिक प्रभावलगायत विषयमा छलफल हुनेछ।