बाँके । चालू आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असोज मसान्तसम्म बाँकेस्थित नेपालगञ्ज जमुना भन्सार नाकाबाट १७ अर्ब ९३ करोड १३ लाख ८३ हजार रुपैयाँको वैदेशिक व्यापार भएको छ ।
समीक्षा अवधिमा विभिन्न २१ देशबाट १७ अर्ब ४८ करोड ९५ लाख ८७ हजार बराबरका विभिन्न सामग्री आयात भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख ध्रुव विकले जानकारी दिए ।
गत आर्थिक वर्षमा ४४ करोड १७ लाख ९६ हजारको मात्रै निर्यात भएको उनले सुनाए । पछिल्लो ३ महिनामा भारतबाट मात्रै १५ अर्ब २९ करोड ७८ लाख ८४ हजार बराबरको सामग्री आयात भएको छ । जुन कूल आयातको ९३.१९ प्रतिशत हो ।
नेपालगञ्ज नाका हुँदै ५३ करोड ६५ लाख ८८ हजार अर्थात् कूल निर्यातको ९८.८२ प्रतिशत हिस्सा भारतले नै ओगटेको छ । भन्सार कार्यालयले दिएको जानकारी अनुसार दोस्रो धेरै निर्यात हुने देशको सूचीमा युनाइटेड अरब इमिरेट्स र म्यानमार रहेको छ ।
नेपालगञ्ज नाका हुँदै भारत, बेलायत, मलेसिया, म्यान्मा, चाइना, भियतनाम, बेल्जियम, इटली, दक्षिण अफ्रिका, टर्की, थाइल्यान्ड, ताइवान, दुबई, साउदी अरेबिया, सिंगापुरसहित २१ देशबाट सामान आयात भएको कार्यालय प्रमुख विकले बताए ।
यीमध्ये भारत, युनाइटेड अरब इमिरेट्स र म्यान्मासँग मात्रै निर्यात व्यापार हुने गरेको छ । नेपालगञ्ज नाका हुँदै भारत लगायतका देशबाट इन्धन, खाद्यान्न, मशिनरीसहित ५० प्रकारका सामग्री आयात हुन्छ । यस नाकाबाट विशेषगरी जडिबुटी, प्लाइउडसहित १७ प्रकारका सामग्री निर्यात हुँदै आएको भन्सार कार्यालयले जनाएको छ ।