काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरीबी निवारणमा सबै मिलेर काम गरेको अवस्थामा दीगो विकासका लक्ष्य हासिल गर्न मद्दत मिल्ने विश्वास व्यक्त गरेका छन् ।
चीनले अघि सारेको ‘बेल्ट एण्ड रोड कोअपरेसन फर डेभलपमेण्ट इन साउथ एसिया’ले आज बुधबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले विद्यमान गरीबी घटाउन सकेमा दीगो विकासका लक्ष्य हासिल गर्न मद्दत पुग्ने बताए ।
एक असल छिमेकीका रूपमा आफ्ना सफल अभ्यासलाई नेपाल लगायत दक्षिण एसियाली मुलुकमा प्रयोग गर्न प्रोत्साहन गर्ने चीन सरकारको अग्रसरताको अध्यक्ष तिमिल्सिानाले प्रशंसा गरे । उनले यसबाट दक्षिण एसियाली मुलुकको आर्थिक विकास र जनताको जीवनयापनमा सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल लगायत दक्षिण एसियाली मुलुकले चीनका सफल अनुभवबाट शिक्षा लिएर असल अभ्यासलाई आत्मसात गरेर अगाडि बढ्न सके गरीबी निवारणमा महत्त्वपूर्ण सफलता प्राप्त गर्न सकिने अध्यक्ष तिमिल्सिनाले बताए ।
‘बीआरआईको कार्यान्वयनमा कमीकमजोरी देखिए सच्च्याउने, विभिन्न देशका आफ्नै परिस्थिति अनुकूल हुने गरी सञ्चालन गर्न र ती देशका जनताले अधिकतम लाभ लिन सक्ने गरी परियोजना अगाडि बढाउन जरुरी छ,’ उनले भने, ‘गरीबी न्यूनीकरण तथा विकास साझेदारीका लागि यो परियोजना महत्त्वपूर्ण कडीको रूपमा रहनेछ ।’
चीन–दक्षिण एशिया गरीबी न्यूनीकरण तथा विकास सहयोग मञ्च विषयक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सङले चीनले आफ्नो आधुनिकीकरणको विश्वव्यापी महत्त्वका साथ गरीबी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय सहयोगलाई सक्रियतापूर्वक सञ्चालन गरिरहेको बताए ।
चीन–नेपाल सम्बन्धका विविध आयामबारे चर्चा गर्दै चिनियाँ राजदूतले प्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’को चीन भ्रमणको क्रममा २ देशबीच गरीबी घटाउन सहयोग आदानप्रदान र जनताको जीविकोपार्जनमा सुधार गर्न तथा ग्रामीण क्षेत्रको पुनरुत्थानमा ध्यान केन्द्रित गर्न सहमति भएको उल्लेख गरेका छन् ।