काठमाडौं । सर्लाहीको बलरा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक कौशलेन्द्र मिश्रविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मिश्रविरुद्ध विशेष अदालत काठमाडौंमा मंगलबार मुद्दा दायर गरेको हो ।
मिश्रको १ करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ २९ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । २०५७ असार ८ गते सेवा प्रवेश गरेका उनले २०७८ कात्तिक २६ सम्म पारिश्रमिक बचत, अन्य भत्ता, छोरीको पारिश्रमिक, कृषि आय लगायतबाट १ करोड १३ लाख ४५ हजार ८०५ रुपैयाँ ४३ पैसा आय गरेको अख्तियारको ठहर छ ।
तर यही अवधिमा जग्गा खरिद, घर निर्माण खर्च, शैक्षिक खर्च, सवारी साधन खरिद, उद्योग व्यवसायमा लगानी लगायत गरी २ करोड ४३ लाख ९१ हजार ५६५ रुपैयाँ ७२ पैसा खर्च तथा लगानी गरेको देखिएको अख्तियारले जनाएको छ । यो रकम उनको वैध आम्दानी भन्दा १ करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ २९ पैसा बढी भएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
मिश्रले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गर्नुका साथै अमिल्दो र अस्वाभाविक उच्च जीवन यापन गरेको पुष्टि भएको समेत आयोगले बताएको छ ।
अख्तिायरले उनका श्रीमतीहरू सरोज कुमारी र तुलसी कुमारी मिश्र शर्मालाई समेत प्रतिवादी बनाएर मुद्दा दाय गरेको छ । मिश्रले
गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति दुई श्रीमतीहरूको नाममा राखेकाको अख्तियारले जनाएको छ ।