दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
प्रदेश सरकारका सचिवहरूसँग आज बिहीबार मुख्यमन्त्री कार्यालय देउखुरीमा भएको बैठकमा मुख्यमन्त्री चौधरीले यस्तो निर्देशन दिए ।
मुख्यमन्त्री चौधरीले मन्त्रालय र मन्त्रालय मातहत कार्यालयको सेवा प्रवाह प्रभावकारी एवं छिटोछरितो बनाउन आवश्यक रहेको भन्दै सोहीअनुसार गर्न निर्देशन दिए । उनले कार्यसम्पादनलाई प्रभावकारी बनाई उपलब्धि बढाउन समेत आग्रह गरे ।
‘अहिले प्रदेश सरकारको कार्यसम्पादन र उपलब्धि भनेअनुसार राम्रो हुन सकेको छैन, अब त्यो अवस्था आउन दिनु हुँदैन,’ उनले भने, ‘सरकारको कामको गति सुस्त भयो, उपलब्धि बढाऊ, भएको प्रगति सार्वजनिक गरौं ।’
चालू आर्थिक वर्षको अहिलेसम्मको प्रगति, उपलब्धि र खर्च सन्तोषजनक नदेखिएको भन्दै मुख्यमन्त्री चौधरीले यसलाई गम्भीर रूपमा लिन आग्रह गरे । उनले अनावश्यक योजनाभन्दा पनि आवश्यक योजना कार्यान्वयनमा चासो दिन समेत आग्रह गरेका छन् ।
मन्त्रालयको लक्ष्य र उद्देश्यमा रहेर नीति निर्माण गर्न र सोहीअनुसार काम गर्न समेत मुख्यमन्त्री चौधरीले आग्रह गरे । त्यहीअनुसार नीति बनाउन र स्रोत परिचालन गर्न समेत उनले निर्देशन दिए ।
योजना कार्यान्वयनका लागि अन्तर मन्त्रालय समन्वय बढाउन समेत मुख्यमन्त्री चौधरीले निर्देशन दिए ।
बैठकमा प्रमुख सचिव राधिका अर्यालले निर्देशन कार्यान्वयन गर्न मन्त्रालयको कार्यासम्पादन बढाउन आग्रह गरे । उनले अबको समय पूर्णरूपमा कार्यान्वयनको भएको हुँदा त्यसमा दत्तचित्त हुनुपर्नेमा जोड दिए ।
मन्त्रालयका सचिवहरूले मन्त्रालयले योजना र बजेट कार्यान्वयनका लागि नीति, विधि बनिसकेकाले अब काममा लाग्ने प्रतिबद्धता जनाएका थिए ।