दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालका मौलिक कला, संस्कृति संरक्षण गर्नु राज्यको कर्तव्य भएको बताएकी छन् ।
बङ्गलाचुली गाउँपालिकाले स्थानीय कला संस्कृति संरक्षणका लागि आज बिहीबार आयोजना गरेको बृहत् भैलो महोत्सवमा मन्त्री शर्माले आफ्नो मौलिक संस्कृति जोगाउन नयाँ र पुरानो पुस्ता एक ठाउँमा हुनुपर्छ भन्दै मौलिक लोक कला संस्कृति संरक्षणका लागि सरकार गम्भीर रहेको बताइन् ।
‘सरकारको काम हरेक समुदायका संस्कृति र सम्पदाको संरक्षणसँगै प्रवर्द्धन गर्नु हो । यसमा हाम्रो ध्यान गएको छ,’ उनले भनिन्, ‘यहाँको मौलिक कला संस्कृति पालिकाको निधि रहेकाले यसलाई उजागर गर्नुपर्छ, संस्कृति संरक्षणका निम्ति तीन वटै तहका सरकारबीच सहकार्य आवश्यक छ ।’
फरक प्रसङ्गमा मन्त्री शर्माले निर्वाचनका बेला मतदातासमक्ष गरिएका वाचा पूरा गर्न आफू प्रतिबद्ध रहेको बताइन् । बङ्गलाचुली गाउँपालिकाले अघि सारेको ‘एक घर एक धारा’ अभियान पूरा गर्न केन्द्र र प्रदेश सरकारले काम थालेको बताउँदै उनले अभियान चाँडै साकार हुने बताइन् ।
सडक पूर्वाधार, सिँचाइ, खानेपानी, स्वास्थ्यलगायत विकासका कामलाई आफूले पहिलो प्राथमिता दिएको उनले स्पष्ट गरिन् ।
दाङ र प्युठान जोड्ने मदन भण्डारी मार्ग, बीपी मार्ग लगायत पालिकाभित्रका सहायक सडकको काम पूरा गर्ने अभियानका साथ सरकार अघि बढेको मन्त्री शर्माको कथन थियो ।
गाउँपालिका अध्यक्ष तुलसीराम पुनको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले संस्कार संस्कृतिलाई पुस्ता हस्तान्तरणको आधार बनाउन बङ्गलाचुली गाउँपालिका नयाँ अभ्यासको थालनी गरेको बताए ।
पालिकाको ८ वटै वडाबाट १६ वटा समूह सहभागी भई गरिएको बृहत् भैलो महोत्सवमा वडा नम्बर ५ साकिनेको समूह सर्वोत्कृष्ट भएको छ । महोत्सवमा एकल रुपमा भूमे भैलो नृत्य प्रस्तुत गरेका धानबहादुर विकलाई उत्कृष्ट घोषित गरिएको थियो ।