खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले आगलागीका घटना न्यूनीकरण गर्न जिल्लामा जनचेतनामूलक अभियान सुरु गरेको छ ।
आगलागीको उच्च जोखिममा रहेको खोटाङमा प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत जिल्लाका १० वटै स्थानीय तहमा जनचेतनामूलक अभियान सुरु गरेको हो ।
अभियानका क्रममा प्रहरीले विद्यालय, हाटबजार, मन्दिर लगायतमा जनचेतनामूलक कार्यक्रम गर्दै आगलागीका घटना हुन नदिन तथा भएमा बच्ने उपायबारे जानकारी दिने गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोतम खड्काले जानकारी दिए ।
‘आर्थिक वर्ष २०८०/८१ मा आगलागीका ८ वटा घटना भइसकेका छन् । जसबाट केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी १५ वर्षीया किशोरी सरिता तामाङ घाइते भई काठमाडौंको शिक्षण अस्पताल माहाराजगञ्जमा उपचाररत रहनुभएको छ । यसका साथै २९ वटा पशुचौपाया र १५ वटा पंक्षी समेत आगलागीबाट क्षति भएको देखिन्छ,’ उनले भने, ‘भौतिक क्षतितर्फ ५ घर र ५ गोठमा क्षति हुँदा करीब ३६ लाख २० हजार बराबरको क्षति भएको छ । यस जिल्लामा विगत समेतको आगलागीका घटनाको सूक्ष्म अध्ययन गर्दा हावा बढी चल्ने र सुक्खायामका कारण फागुनदेखि वैशाखसम्म धेरै क्षति हुने गरेको देखिएको छ । यसलाई न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम सुरु गरिएको हो ।’
बिजुली र ग्यासको पहुँच नभएका ग्रामीण बस्तीमा टुकी, अँगेनामा बालिएको आगो ननिभाई छाड्नु आदि कारणले आगलागी भएको पाइएको प्रहरीले जनाएको छ । बजार क्षेत्रका बस्तीमा भएको आगलागीको मुख्य कारण भने विद्युत्, ग्यास सिलिन्डर पड्कनु, ग्यास लिक हुनु र धूप बाल्ने चलन आदि रहेका छन् ।
यसैलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लाभरका प्रहरी कार्यालयमार्फत आगलागी नियन्त्रण सम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गरेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए । जसअनुसार जिल्ला प्रहरी कार्यालय खोटाङले रत्नपार्क, त्रिवेणीचोक, डाँडाटोल, पञ्चदोबाटो, बानाचुङ, हुलाकी टोल, लेवरगाँउ, वातेमा गाउँ, कटुवाल टोल, तालखर्क, चालिसे, याम्खा, नुनथला, गैरीगाउँमा गरी बिहीबार एकैदिन १४ स्थानमा कार्यक्रम सम्पन्न गरेको छ ।
ईलाका प्रहरी कार्यालय हलेसी र हलेसी मातहत प्रहरी चौकीहरूले अर्खौले, रिठ्ठाबोट, गैरी, बिजुले, ट्राफिक चोक, कदुवा, च्यास्मिटार, जयरामघाट, कोटगैरी, धितुङ, बनपाला र छापडाडा गरी १२ स्थानमा कार्यक्रम सञ्चालन गरेको छ । ईलाका प्रहरी कार्यालय मात्तिम बिर्ताले मात्तिम बिर्ता र पहारोङमा कार्यक्रम सञ्चालन गरेको छ ।
ईलाका प्रहरी कार्यालय बाक्सिलाले बाक्सिला बजार र बातेमागाउँमा गरी दुई स्थानमा कार्यक्रम सञ्चालन गरेको जनाएको छ । यसका साथै ईलाका प्रहरी कार्यालय खोटाङ बजारले खोटेहाङ गाउँपालिका–२ स्थित वडा कार्यालयको प्राङ्गण, वाङ्सोलाटार, सिम्पानी बजार, बतासे गरी ४ स्थानमा कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए ।
जिल्लामा हुन सक्ने आगलागीका घटना न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय खोटाङले २० बुँदामा समेटेर जनचेतनामूलक सन्देश समेत प्रवाह गरेको छ । प्रहरीले आफ्नो फेसबूक पेजमार्फत प्रवाह गरेको जनचेतनामूलक सन्देशमा आगलागीका घटना हुनबाट जोगाउन तथा भइसकेको अवस्थामा जोगिन सकिने उपायहरू समेटिएका छन् ।