काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले नेपाल भ्रमणमा रहेको चीनको तिब्बत स्वायत्त क्षेत्रको संसदीय प्रतिनिधि मण्डलसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।
चीनको तिब्बत स्वायत्त क्षेत्र जनकांग्रेसका स्थायी समिति उपनिर्देशक तथा जनकांग्रेसको कृषि, ग्रामीण मामिला र वातावरणीय स्रोत समितिका अध्यक्ष जियाङ बाईको नेतृत्वमा आएको चिनियाँ संसदीय प्रतिनिधि मण्डलसँग मंगलबार) सिंहदरबारमा उपसभामुख रानाले भेटवार्ता गरेकी हुन् ।
भेटमा उपसभामुख रानाले नेपाल चीन सम्बन्ध निकै पूरानो र घनिष्ट भएको चर्चा गर्दै दुई पक्षीय भेटवार्ता र भ्रमणले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् ।
नेपालको हिमाली क्षेत्रमा उत्पादन हुने फलफूल, जडिबुटी लगायत कृषि उत्पादनहरू अर्गानिक र उत्कृष्ट हुने भन्दै उपसभामुख रानाले नेपाली उत्पादनलाई चिनियाँ बजारसम्म बिस्तार गर्न सके दुवै देशलाई फाइदा हुने बताइन् ।
‘नेपालको हिमाली क्षेत्रमा उत्पादन हुने फलफूलहरु विशेष गरी ओखर निकै राम्रो र स्वादिलो हुन्छ,’ रानाले भनिन्, ‘नेपालमा उत्पादन हुने फलफूल, जडिबुटीहरू चिनियाँ बजारसम्म विस्तार गर्न सके चीनका नागरिकले हिमाली क्षेत्रको उत्पादनको स्वाद पाउनु हुन्थ्यो ।’
भौगोलिक विकटता र पर्याप्त सडक मार्गको विकास नहुँदा छिमेकी देश चीनसँग सीमित मात्रामा नाकाहरु रहेको भन्दै उपसभामुख रानाले भएका नाकाहरू पनि बेला बेलामा बन्द हुने गरेकाले समस्या हुने गरेको बताइन् ।
नेपालमा बनाइएको कार्पेट चीनमा निर्यात हुने गरेको थाहा पाउँदा आफूलाई निकै खुसी लागेको भन्दै उपसभामुख रानाले कतिपय कार्पेट जेलमा रहेका कैदीबन्दीहरूले समेत बनाउने गरेको उल्लेख गरिन् ।
आफू राजनीतिमा आउनुअघि सामाजिक संस्थामार्फत् समाजसेवा गरेको चर्चा गर्दै उपसभामुख रानाले राजनीतिमा आएपछि आफूलाई नयाँ अनुभूति भएको पनि बताइन् ।
सो अवसरमा संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गरेका तिब्बत स्वायत्त क्षेत्र जनकांग्रेसको कृषि, ग्रामीण मामिला र वातावरणीय स्रोत समितिका अध्यक्ष जियाङ बाईले नेपाल र चीनबीचको सम्बन्ध इतिहासदेखि नै निकै घनिष्ट रहेको बताए ।
तिब्बत स्वायत्त क्षेत्रको प्रान्तीय टोलीको नेतृत्व गर्दै आफू पहिलोपटक नेपाल आएको उल्लेख गर्दै जियाङले तिब्बतले नेपालसँगको सम्बन्धलाई सधैं विशेष प्राथमिकता दिने बताए ।
‘चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले नेपाल-चीन सम्बन्धको नयाँ अध्याय सुरु भएको छ,’ जियाङले भने, ‘नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धताको हामी प्रशंसा गर्छौं ।’
भूकम्प र कोरोना महामारीका कारण नेपाल-चीन सिमा नाकाहरूमा केही समस्या आएको चर्चा गर्दै जियाङले पछिल्लो समय सबै नाकाहरू खुल्दै गएको र सामान आयात निर्यातमा हुने कठिनाइ हट्दै गएको बताए ।
उपसभामुख रानालाई तिब्बत भ्रमणको निम्तो गर्दै उनले आफ्नै आँखाले तिब्बतको विकास हेर्न आग्रह गरिन् ।
भेटवार्तामा चिनियाँ प्रतिनिधि मण्डलका साथै नेपालका लागि चीनका राजदूत छन् सोङ पनि सहभागी थिए ।