काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र हिंसा अन्त्यका लागि कानूनमा उल्लेखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गर्दै विकृति र विसंगतिविरुद्ध व्यापक सचेतना अभियान सञ्चालन गर्नु आवश्यक रहेको बताएकी छन् ।
हिंसा निर्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज शनिबार शुभकामना व्यक्त गर्दै यसप्रकारका दिवस एवं अभियानबाट समाजमा सचेतना अभिवृद्धि र महिलाविरुद्ध हुने हिंसा निर्मूलनमा महत्त्वपूर्ण सहयोग पुग्न विश्वास व्यक्त गरिन् ।
हरेक वर्ष नोभेम्बर २५ मा महिलाविरुद्ध हुने हिंसा निर्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन गरिने ‘लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान’ पनि आजबाट सुरु भएको छ ।
‘हाम्रो देशमा लैंगिक समानता र महिला अधिकारका लागि भएका विभिन्न आन्दोलन, सामाजिक जागरण एवं सचेतना अभियानको परिणाम स्वरूप संवैधानिक, कानूनी र संरचनागत व्यवस्था गरिएपछि राजनीति, प्रशासन र अन्य सार्वजनिक क्षेत्रमा महिलाको सहभागितामा उल्लेख्य वृद्धि हुनाको साथै महिलाको सामाजिक–आर्थिक अवस्था क्रमशः सुधारोन्मुख रहेको छ,’ पूर्व राष्ट्रपति भण्डारीले भनिन् ।
समाजमा विद्यमान अन्धविश्वास, पछौटेपन र सचेतनाको अभावका कारण बालविवाह, बहुविवाह, दाइजो, तिलक तथा छाउपडी प्रथा, बोक्सीको आरोप जस्ता विभेदजन्य कुप्रथाहरू पूर्णरूपमा निर्मूल गर्न हामीले अझै नसकेका प्रस्ट पारेकी छन् । घरेलु हिंसा, यौन दुव्र्यवहार, एसिड आक्रमण, महिला बेचबिखन, बलात्कार र हत्या जस्ता महिलाविरुद्ध हुने हिंसाजन्य घटना समेत दैनिकजसो घटिरहेको र प्रविधिका माध्यमबाट महिलाविरुद्ध हुने हिंसा तथा शोषणका नयाँ स्वरूप समेत प्रकट भइरहेका उनको भनाइ छ ।
‘यस दिवसबाट लैंगिक हिंसा अन्त्यको लागि क्रियाशील सबैलाई थप उत्साहका साथ काम गर्न प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गर्दै लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको सफलताको कामना गर्दछु,’ उनले भनिन् ।