काठमाडौं । यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट दुई जना पुरस्कृत हुने भएका छन् ।
मदन भण्डारी फाउन्डेसनले जननेता मदन भण्डारीको जन्मोत्सवको अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार यस वर्ष डा. मिङमार गेल्जेन शेर्पा र निरू कुमारी मगरलाई दिने पुरस्कृत गर्ने निर्णय गरेको हो ।
समाजमा सिर्जनात्मक काम गरी अरूलाई उत्प्रेरित गर्ने व्यक्ति तथा संस्थालाई फाउन्डेसनले पुरस्कार प्रदान गर्दै आएको छ ।फाउन्डेसनले यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार २०७९ बाट सोलुदूधकुण्ड नगरपालिका-४, फाप्लु, सोलुखुम्बु निवासी डा. मिङमार गेल्जेन शेर्पालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
फाउन्डेसनका सचिवालय सदस्य एवं पुरस्कार समितिका संयोजक राम शरण प्याकुरेलका अनुसार ४५ वर्षदेखि स्वास्थ्य सेवाको क्षेत्रमा संलग्न रही, देशका दुर्गम स्थानका गरिब, असहाय तथा सेवाको पहुँचबाट वञ्चित रहेको समुदायलाई आफ्नो सेवा दिँदै आएका शेर्पालाई दिने निर्णय गरिएको हो ।
शेर्पाले विशेषतः मातृ मृत्युदर घटाउन, आधारभूत स्वास्थ्य सेवाको सहज पहुँच उपलब्ध गराउन ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम,दुर्गम असहायहरूका लागि हाडजोर्नी र अपाङ्गता सम्बन्धी जिल्लाहरूमा टेलिमेडिसिन सेवा, उपचारका साथै स्वास्थ्य संस्थाहरूमा गुणस्तरीय औषधि तथा स्वास्थ्य सामाग्रीहरू नियमित आपूर्ति गर्न बहुवर्षीय खरिद प्रणालीको सुरुआत गरेका थिए ।
साथै स्वास्थ्य सेवाको निरन्तरता र दिगोपनाका लागि स्वास्थ्य सेवा प्रणालीको संस्थागत विकास तथा विस्तारमा महत्त्वपूर्ण नेतृत्व र विशेष भूमिका निर्वाह गर्दै आएका कारण डा. शेर्पालाई पुरस्कृत गर्न लागिएको फाउण्डेशनले जनाएको छ ।
त्यसैगरी यस वर्षको मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार हेटौँडा उपमहानगरपालिका-४ प्रतिभानगर, मकवानपुर निवासी श्री निरु कुमारी मगरलाई प्रदान गरिने भएको छ ।
विगत ३१ वर्षदेखि खेलकुद विकासको विविध विधा र क्षेत्रमा संलग्न रही, कठिन पारिवारिक, आर्थिक, सामाजिक परिवेशका बाबजुद, आफ्नै प्रयत्नका आधारमा खेलप्रति लगनशील र निरन्तर समर्पित रहेर समाजमा विद्यमान खेलप्रतिको बुझाइ र महिला खेलाडीहरूप्रतिको दृष्टिकोण परिवर्तन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने निरूलाई छनौट गरिएको फाउन्डेसनले जनाएको छ ।
स्थानीय, प्रादेशिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सफलताको मानकहरू कायम गरी नयाँ पिँढीलाई प्रेरणाको स्रोतको रूपमा पहिचान बनाउँदै विभिन्न खेल गतिविधिहरूमा नियमित र निरन्तर संलग्न रहँदै खेल क्षेत्र, लिङ्गीय विभेद विरुद्ध महिला आत्म सुरक्षा तथा आत्मानुशासन क्षेत्रको ज्ञान सीपको प्रचार एवं कौशल हस्तान्तरण गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूको नयाँ पुस्ता तयार गर्ने कार्यमा निरन्तर योगदान पुऱ्याएको पुरस्कार छनौट समितिले जनाएको छ ।
पुरस्कारका निम्ती छनौट भएका शेर्पा र मगरलाई बिहीबार (असार १४ गते) जननेता मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा पुरस्कृत गरिने मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको थियो । पुरस्कारको राशी जनही १ लाख नगद सहित सम्मान- पत्र रहेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै फाउन्डेसनका अध्यक्ष एवं पूर्व परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले वामपन्थी लोकतान्त्रिक क्रान्तिमार्फत समाज रूपान्तरणमा मदन भण्डारीको महत्त्वपूर्ण योगदान रहेको चर्चा गरे । समाजका सकारात्मक पक्ष र सत्कर्मलाई उजागर गर्ने र त्यसमार्फत समाजलाई उत्प्रेरित गर्ने मूल ध्येय जननेता भण्डारी रहेको र फाउन्डेसनले सोहीअनुसार अहिले काम गरिरहेको समेत बताए ।
मदन भण्डारीको जन्मजयन्ती असार १४ गतेको अवसरमा फाउन्डेसनले कार्यक्रम गर्दै आएको छ । वि.सं. २००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मिएका जननेता भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा कार दुर्घटनामा निधन भएको थियो । उनको हत्या भएको दावी एमालेले गर्दै आएको भए पनि अनुसन्धान हुन सकेको छैन ।
फाउन्डेसनले बिहीबार राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा विशेष कार्यक्रमको आयोजना गरेको छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता तथा पूर्व प्रधानमन्त्री एवं फाउन्डेसनका संरक्षक केपी शर्मा ओलीको विशिष्ट आतिथ्यमा हुने कार्यक्रममा "जबजका आयाम तथा विशेषताहरू” विषयक विचार गोष्ठीको आयोजना समेत गरिएको छ ।