बाँके । बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–९ ढकेरीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ढकेरीमा ६१७ जनाले स्वास्थ्य जाँच गराएका छन् ।
राप्तीसोनारी गाउँपालिकाको आयोजना, एचसीआरसी अस्पतालको सहयोग र बाँके राष्ट्रिय निकुञ्जमा तैनाथ नेपाली सेनाको अर्जुनवाण गणको समन्वयमा सञ्चालित शिविरमा ६१७ जनाले स्वास्थ्य परीक्षण गराएका हुन् ।
श्री नम्बर ४ बाहिनी अड्डा इमामनगर ब्यारेकका बाहिनीपति सहायक रथी प्रकाश थापाद्वारा अनुगमन गरिएको शिविरमा ओभरीस्थित अर्जुनवाण गणका गणपति एवं नेपाली सेनाका प्रधान सेनानी अशोक खड्काले शहरी क्षेत्रका अस्पताल र चिकित्सकसँग सहज पहुँच नभएका स्थानीयलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए ।
‘शहरसम्म पुगेर, महंगो अस्पतालमा पैसा खर्च गरेर, सामान्य स्वास्थ्य जाँच गराउनका लागि सबैले नसकिरहेको अवस्थामा हामीले यो शिविर गाउँपालिकासँग समन्वय गरेर सञ्चालन गरेका हौं,’ गणपति खड्काले भने ।
उनले १ दिने शिविरमा स्वास्थ्य जाँच गराउन पाएकामा यहाँका स्थानीय बिरामी खुशी भएको बताए ।
मध्यवर्ती क्षेत्रका स्थानीय र सेनाबीचको सम्बन्ध विस्तारका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले बताए । मेडिकल कलेजका अन्य डाक्टरसँगै सेनाका विशषज्ञ डाक्टरद्वारा स्थानीयको स्वस्थ्य जाँच गराउँदा त्यसको विश्वसनीयता बढ्ने भएकाले सेनासँग समन्वय गरिएको उनको भनाइ छ ।
गाउँपालिका स्वास्थ्य शाखा सिनियर अहेब सुरेशकुमार शर्माले सबैभन्दा बढी नाक, कान र घाँटी र स्त्रीरोग सम्बन्धी स्वास्थ्य परीक्षण गरिएको बताए । नाक, कान र घाँटीका २६० र स्त्रीरोग सम्बन्धी ११२ जनाको स्वास्थ्य जाँच गरिएको थियो । शिविरमा २५० जनाले सामान्य स्वास्थ्य जाँच गराएका छन् भने हाडजोर्नी तथा नशाका २४८ जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।
मुटुरोग सम्बन्धी ८०, छालारोग सम्बन्धी ६२, रगत जाँच ३२ र मुटुको धड्कन (ईसीजी) ४५ जनाले स्वास्थ्य जाँच गराएका छन् ।
शिविरमा कोहलपुर मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज र आर्मी अस्पताल नेपालगञ्ज र राप्तीसोनारी गाउँपालिकाका एक चिकित्सक गरी ९ चिकित्सक सेवा दिएको एचसीआरसी अस्पताल नेपालगञ्ज बाँकेका रमेश सिटौलाले बताए । उनका अनुसार १ जना बिरामीको एकैपटक ३ देखि ४ वटासम्म स्वास्थ्य जाँच गरिएको थियो ।
शिविरमा नेपाली सेनाका तर्फबाट हाडजोर्नीका डा. अमिररत्न शाक्य, सामान्य स्वास्थ्य जाँचका डा. सुरेश कायस्थ र नाक, कान घाँटीको डा. कविर बाँस्तोलाले बिरामीको स्वास्थ्य जाँच गरेका थिए भने कोहलपुर मेडिकल कलेजबाट छालारोग विशेषज्ञ डा. कमलजंग शाही, मुटुरोग डा. विपीन आर्चायले बिरामीको स्वास्थ्य जाँच गरेका थिए । महिलाको स्वास्थ्य जाँचका लागि महिला प्रसूति निःसन्तान विशषज्ञ डा. मञ्जु विसी शाह, छालारोग डा. आरके झाले स्वास्थ्य जाँच गरेका थिए । स्वास्थ्य शिविरमा निःशुल्क औषधि वितरण गरिएको छ ।