काठमाडौं । महालेखा परीक्षकको कार्यालय, निर्वाचन आयोग, लोकसेवा आयोग र स्रोत तथा वित्त आयोगमा गरी चार वटा महत्त्वपूर्ण संवैधानिक निकायमा तीन वटा पद रिक्त छ ।
निर्वाचन आयोगमा आयुक्त ईश्वरी पौडेल गत निर्वाचन सम्पन्न भएपछि फागुनदेखि बिदा भए । त्यसयता आयोगमा एक पद रिक्त छ ।त्यस्तै महालेखा परीक्षक टङ्कमणि शर्मा ६ वर्षे कार्यकाल सम्पन्न गरेर गत जेठको ८ देखि बिदा भएर गए । त्यसयता महालेखा परीक्षकको पद रिक्त छ ।
प्राकृतिक स्रोत तथा वित्त आयोगमा पनि महिलाको कोटाको एक सदस्य पद रिक्त छ । सूचना अनुसार लोक सेवा आयोगमा पनि एक पद रिक्त हुने तयारीमा छ ।
महत्त्वपूर्ण संवैधानिक पदमा आफ्ना निकट व्यक्तिहरू नियुक्त गर्न राजनीतिक दलहरूले हानथाप गर्दै आएका छन् । स्रोतका अनुसार रिक्त महालेखा परीक्षकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चासो दिँदै आएको छ ।
महालेखापरीक्षकमा अर्थ र राजस्व मामिलाका विज्ञ पूर्वसचिव शिशिरकुमार ढुंगानालाई एमाले अध्यक्ष ओलीले अगाडि बढाउने संकेत छ । यद्यपि उक्त पदका लागि पूर्वगृह सचिव महेश्वर न्यौपाने पनि दौडधुपमै गरिरहेका छन् ।
निर्वाचन आयोगका लागि पूर्व-सहसचिव केदार पनेरुलाई ओलीले अगाडि सार्ने देखिन्छ । त्यस्तै रिक्त निर्वाचन आयोग र खाली हुने तयारीमा रहेको लोकसेवामध्ये कुनै एकमा नेपाली कांग्रेसले एक जना व्यक्ति तयार पारिसकेको छ । पूर्वसचिव शंकरप्रसाद खरेल राष्ट्रपति रामचन्द्र पौडेल र कांग्रेस सभापति शेरबहादुर देउवाको लिस्टमा छन् ।
महत्त्वपूर्ण संवैधानिक पद भएकाले यी पदहरूमा पुग्न चाहनेहरूको लर्को पनि लामै छ । तर यी सबै पदमा नियुक्त गर्दा प्रमुख प्रतिपक्षी दल निर्णायक हुने पक्का छ । किनभने संवैधानिक परिषद्मा विपक्षी दलका नेता एमाले अध्यक्ष ओली, सभामुख र राष्ट्रियसभाका अध्यक्षसहित रास्वपाकी उप-सभामुख सहित सबै विपक्षी दलको पोल्टामा देखिन्छ । जसका कारण यी पदमा नियुक्त गर्दा राजनीतिक भागबन्डा हुने निश्चित छ ।