काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सरकारले निजामती सेवामा आकर्षण बढाउन आकर्षणका प्याकेजहरू ल्याउनुपर्ने बताएका छन्।
मंगलबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नागरिकहरू निजामती सेवातर्फ किन आकर्षित भएनन् भन्ने विषयको खोजी हुनुपर्ने बताए ।
अभिभावकहरूले आफ्ना सन्तानलाई अध्ययन गराउँदा नेपालका लागि केही गर्नुपर्छ भन्ने सन्देश दिन नसक्नु पनि निजामती सेवामा आकर्षण घट्नुको कारण हुनसक्ने उनकाे भनाइ छ ।
उनले मुलुकको सामथ्र्यअनुसार अरु सेवा समूहलाई नियालेर आकर्षक प्याकेज ल्याउनुपर्ने बताए ।
अध्यक्ष रेग्मीले भने, ‘मानिसहरू निजामती सेवातर्फ किन आकर्षित भएनन् भन्ने विषयमा हाम्रो अभिभावकको पनि कमजोरी छ । आफ्ना छोराछोरीलाई भविष्यमा पढेर नेपालकै सेवा गर्नुपर्छ कत्तिको भन्छौं ? कुनै विद्यालय वा कलेजमा यस्तो पढ्यो भने विदेशमा छिटै भिसा पाइन्छ भन्ने पो पढाएका छौं कि ? निजामती सेवाको आकर्षणका लागि नेपाल सरकारले आकर्षणका प्याकेजहरू के गर्नुपर्ने हो ?’
उनले निजामती कर्मचारीहरू २० वर्षमै पेन्सनमा जाने हो भने पेन्सनमा सरकारको दायित्व अत्यधिक बढ्ने र अनुभवी कर्मचारी निजामती सेवामा नहुने समस्याले निजामती सेवालाई नै असर पुग्ने स्थिति आउनसक्ने पनि बताए ।




























