काठमाडौं बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभागको पाँचौं तलाको कार्यालयमा भेटिरहने पात्र हुन्- देवी पराजुली । भनिन्छ- कर्मचारी प्रायः कार्यालयमा कमै भेटिन्छन् तर पराजुली नियमित भेटिनेमा पर्छिन् । हप्ताको ६ वटा दिन (सार्वजनिक बिदाबाहेक) कार्यालयमा भेटिने पराजुली नेपाल निजामती कर्मचारी संगठनकी सचिवालय सदस्य पनि हुन् । २२ वर्ष निजामती कर्मचारीको रूपमा काम गर्दै आएकी पराजुली गीतकार पनि हुन्, जुन कुरा धेरैलाई थाहा छैन । उनको गीत लेखनको यात्रा भने बाल्यकालदेखि नै सुरु भएको हो ।
करिब ६ दर्जन गीत लेखिसकेकी मृदुभाषी पराजुली वाल्यकालमा पुहाँतु जनज्योति माध्यमिक विद्यालय भद्रपुर झापामा अध्ययनरत थिइन् । कक्षा तीनकी विद्यार्थी हुँदा पराजुलीले एउटा देशभक्त गीत लेखेर गुनगुनाएकी थिइन् । उक्त गीत गाएपछि उनले तालीको वर्षा पाइन् ।चौतर्फी प्रशंसा पाएसँगै उनलाई लाग्यो- गीत लेख्न सकिन्छ । उनी सम्झिन्छिन्, ‘जब गीत लेखेर गुनगुनाएँ, सबैले ताली बजाइदिनु भयो अनि म हौसिएँ । यसरी नै गीत लेख्ने बानी बस्न पुग्यो ।’
भोजपुर जिल्लाबाट बुवाबाजेहरू झापा झरेपछि उनी झापामै जन्मिइन् । गाईवस्तु चराउन जाँदा पनि उनले गीत सम्झिन्थिन् । गीत गुनगुनाउँथिन् । गीतकै बारेमा सोच्थिन् । २०५३ सालमा विवाह गरेर काठमाडौं आए पनि उनी गीत नै सोच्थिन् । विवाहका सुरुवाती दिनमा जबजब उनी गीत सोच्थिन् उनका श्रीमान रिसाउँथे । निजामती कर्मचारी भएको नाताले श्रीमानको दैनिक सरकारी काम कर्तव्यतिर नै ध्यान जान्थ्यो तर उनी गीतकै कुरा गर्थिन् । भन्छिन्, ‘विवाह गरेको केही वर्ष त गीत लेख्न खोज्दा श्रीमान रिसाउनु हुन्थ्यो । जब बाहिरतिर यो विधा पनि राम्रो रहेछ भन्ने थाहा पाएपछि उहाँले विस्तारै सहज रूपमा लिन थाल्नु भयो ।’
एउटा कर्मचारीको जीवन भनेको फरक-फरक ठाउँमा गएर काम गर्ने तर गीत-संगीत त जुन कार्यालयमा पुगे पनि निरन्तर फुर्ने हुन्छ भन्ने अनुभव सुनाउँछिन् उनी ।
मान्छे सिर्जनशील भएपछि धेरै कुरा तलमाथि हुन्छ । भनेको बेला सुत्न सकिँदैन । भनेको बेला काम गर्न सकिँदैन । गीत कहाँ कतिखेर फुर्छ थाहा हुँदैन । लेख्दालेख्दै घन्टौ बितेको थाहा हुँदैन । गीतको भावमा डुब्दा दाल सुकेको या भात डढेको थाहा हुँदैन । पराजुली भन्छिन्, ‘कयौं पटक किचनमा तरकारी डढेको छ । श्रीमानको हप्की खानु परेको छ । तर गीत लेख्न छाेडिएन ।’ जीवनको ४६ वसन्त पार गरेकी पराजुली जीवन गीतसंगीतबिना अपुरो लाग्ने बताउँछिन् । उनले जीवनमा कहिल्यै सरकारी कर्मचारी बनूँला भनेर सोंचेकी थिइनन् । तर समयले आफूले सोचेजस्तो बनाउँदैन भन्ने बुझाइ छ उनको ।
भन्छिन्, ‘मलाई त २०५४ सालमा एअर होस्टेज बन्ने सोच थियो । पढाइ पनि गरें तर श्रीमान निजामती कर्मचारी भएको नाताले खरदारमा फारम भरें । परीक्षा दिएँ तेस्रो नम्बरमा नाम निस्कियो । ’ जीवनमा ठ्याक्कै सोचेको जस्तो हुँदैन तर नसोचेको जीवन मान्छेले भोग्नुपर्छ । एअर होस्टेज हुने सपना बोकेकी पराजुली कर्मचारी भइन् । खरदारमा नाम निकालेपछि पराजुलीले एअर होस्टेज हुने कहिल्यै सोंच राखिनन् । समय सँगै उनी बदलिइन् । जस्तो अवसर छ त्यसलाई पक्रिन सके सफलतामा पुग्न सकिने बताउँछिन् उनी । भन्छिन्, ‘हामीले समयलाई चिन्न सक्नुपर्छ । धेरै कर्मचारीले आफूलाई चिनेका कारण जहाँको त्यही रोकिनु पर्नु अवस्था पनि छ ।’
प्रशासन क्षेत्रमा काम गर्न जन्मिएको बताउने पराजुली अहिले कर्मचारी हुनुको अर्थ खुलेर बताउन सक्छिन् । नेपाली समाजमा महिलाको स्तरलाई कसरी मूल्यांकन गरिन्छ भन्ने बुझाइ भए पनि पारिवारिक सहयोगबिना महिलाहरू माथि उठ्न गाह्रो हुने बताउँछिन् । भन्छिन्, ‘अहिले पनि महिलालाई पारिवारिक सहयोग चाहिन्छ । म एउटा कर्मचारी हुनुको कारण नै पारिवारिक सहयोग हो । शिक्षामा लामो समय अनुभव लिएर पराजुली सामान्य प्रशासन मन्त्रालयमा कार्यरत भइन्, त्यसपछि हुलाक कार्यालय डिल्लीबजारमा सरिन् । त्यसपछि उनी टाढा सोलुखुम्बु जिल्लामा काम गर्न पुगिन् । त्यसपछि फेरि काठमाडौं फर्किएर निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा साँढे पाँच वर्ष काम गरिन् ।
एउटा कर्मचारीको जीवन भनेको फरक-फरक ठाउँमा गएर काम गर्ने तर गीत-संगीत त जुन कार्यालयमा पुगे पनि निरन्तर फुर्ने हुन्छ भन्ने अनुभव सुनाउँछिन् उनी ।
२०५४ सालमा लोकसेवामार्फत् नाम निकालेर सरकारी सेवामा प्रवेश गरेकी पराजुली अहिले पनि राष्ट्रिय गीतमा काम गर्न चाहेको बताउँछिन् । कर्मचारी जति व्यस्त हुन्छन् त्यति नै स्वतन्त्र पनि हुने अनुभव छ उनको । ‘कर्मचारीले समाजसेवा र सिर्जनशील काममा पनि समय दिन सकिन्छ, मात्र इच्छा शक्ति हुनुपर्छ । सिर्जनशील काममा लाग्दा म खुसी हुन्छु ’, पराजुलीले भनिन् ।
गीतकार पराजुली नयाँ-नयाँ गीत पनि ल्याउने र त्यसका शब्दमा रमाउने कोसिस गर्छिन् ।
साहित्यमाथिको कार्यक्रम पनि चलाउन मन थियो उनलाई । तर प्रशासन प्रमुख भएको नाताले अर्को काम गर्न नसकेकाे बताउँछिन् उनी । अझ महिला भएका कारणले पनि यस्तो चुनौती हुने अड्कल लगाउँछिन् । भन्छिन्, ‘हाम्रो समाजमा महिलामाथि गरिने अन्यायलाई सम्झिनुपर्छ । तर क्षमतावान महिलालाई ठाउँ पाए पनि अन्य महिलालाई गाह्रो छ ।’
गीतकार हुँदा जति स्वतन्त्र छ, त्यति नै चुनौती एक महिला कर्मचारीलाई हुने बताउँछिन् पराजुली । जागिर खानैका लागि त गाह्रो छैन । तर महिलाको मुद्दामाथि बहस गर्दा कहीँ न कहीँ चुनौती देखिने बताउँछिन् ।
हाल स-परिवार भक्तपुरको लोकन्थली बस्दै आएकी पराजुली एक छोरा, छोरी र श्रीमानसँग बस्दै आएकी छन् । श्रीमान वन मन्त्रालयका उपसचिव छन् । दुई सन्तानले गीत-संगीत मन पराउने भएकाले अझ गीत लेखनमा निमग्न हुन सकेको बताउँछिन् । भन्छिन्, ‘सिर्जनात्मक कामका लागि सबै सदस्यको सहयोग चाहिन्छ । एक्लो मान्छेले त केही गर्न सक्दैनन् । एक्लै त बहुत गाह्रो हुँदो रहेछ ।’
यही बेला गीत लेख्छु भनेर लेख्दिनन् उनी । कहाँ कतिखेर फुर्छ, त्यही बेला मोबाइलको नोटमा लेख्छिन् । श्रीमान कहिलेकाही झर्को पनि मान्ने गर्थे । बिस्तारै गीत लेखन विधा पनि राम्रो हो भन्ने थाहा पाएपछि स्वीकार्न थालेको बताउँछिन् ।
जीवनमा कर्मचारी हुनु भनेको राज्यप्रति गरिने नागरिककाे कर्तव्य रहेकाे बताउँछिन् पराजुली । कर्मचारीले सेवाको भाव पैदा गराउँछ । तर गीतले सन्तुष्टिको भाव पैदा गराउँछ । समाजमा धेरै मानिसहरू आफ्ना कुराहरू राख्न सक्दैनन् । त्यस्ता मानिसका कुराहरू गीतमार्फत् राखेको बताउँछिन् । भन्छिन्, ‘समाजको उकुसमुकुस लेख्ने खोजेको छु । उजागर गर्न पाउँदा सन्तुष्टि हुन्छ । म उकुसमुकुसमा नबाँचे पनि मजस्ता धेरै दिदीबहिनीहरू त्यो अवस्थाबाट गुज्रनु परेको छ । तिनका लागि पनि म गीत लेख्छु ।’
‘पहिला-पहिला अलि झर्को मान्नुहुन्थ्यो श्रीमानले । पछि मन पराउन थाल्नु भयो । अरूले मेरो बारेमा भन्न थालेपछि यस्तो भएको हो’, पराजुलीले आफ्नो अनुभव सुनाइन् ।
देशभक्ति गीतमै रमाउन मन पराउने पराजुली युवाहरूलाई हौसला दिने, साहस दिने, मोटिभेसन गर्ने खालको गीत लेख्न रुचाउँछिन् । समाजमा जे घटेको छ, जे भएको छ त्यही सेरोफेरोमा गीत लेख्न रुचाउँछिन् । उनी भन्छिन्, ‘हरेक शब्दको भाव खोज्दछु । यो हामीले सोचेको जस्तो हुन्छ, जसले सबैलाई सहज होस भन्ने लाग्छ ।’
०००
खासै अभिनयमा चासो होइन उनकाे । अभिनय गर्दा लाज लाग्थ्यो उनलाई । लज्जाउने स्वभाव थियो उनकाे । एक दर्जन गीतमा मोडलिङ गरें । घरमा सोध्न पनि अप्ठ्यारो लागेको थियो । सानो रोल पनि गरेको थिएँ । पछि आफ्नै गीतमा उनले
निरन्तर काम गरिन् । अहिले चाहिं के लाग्छ भने गीतकारहरू चाहिं छायामा परेजस्तो हुँदा रहेछन् ।
ज्योति प्रकाश, अशोक कुमार राई, डिजराज पौडेललगायतले पराजुलीकाे गीतमा कम्पोज गरेका छन् । नेपालका चर्चित गायिक अञ्जु पन्त, डिजराज पौडेल, सत्याकला राईलगायत दर्जन गायक-गायिकाले उनका गीत गाएका छन् ।
आफ्नै नामको एल्बम निकाल्न रहर भए पनि पछिल्लो समय युट्युब च्यानलमार्फत् गीत सार्वजनिक गर्ने भएकाले एल्बम ननिकालेको बताउँछिन् पराजुली । उनी भन्छिन्, ‘गीत-संगीत भनेको अहिले हेर्ने जमाना भयो । यो कारण पनि एल्बम ननिकालेको हुँ । फेरि अहिले सिडी चल्ने जमना हरायो । गीत हेर्ने समय आयो । त्यसैले आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरिरहेकी छु ।’
कहिलेकाहीं अफिस कार्यालयमै बसेर गीत लेख्न मन लाग्ने बताउने पराजुलीलाई गीतकार हुन् भन्ने धेरैलाई थाहा छैन । तर उनी पनि गीतकार हुँ भनेर खुलेर बताउँदिनन् । महिलाका मुद्दामा खुलेर लेखहरू लेख्न रुचि राख्ने पराजुली गीत-संगीतले मानिसलाई बदल्ने मौका दिने बताउँछिन् ।
जीवनमा कर्मचारी हुनु भनेको राज्यप्रति गरिने नागरिककाे कर्तव्य रहेकाे बताउँछिन् पराजुली । कर्मचारीले सेवाको भाव पैदा गराउँछ । तर गीतले सन्तुष्टिको भाव पैदा गराउँछ । समाजमा धेरै मानिसहरू आफ्ना कुराहरू राख्न सक्दैनन् । त्यस्ता मानिसका कुराहरू गीतमार्फत् राखेको बताउँछिन् । भन्छिन्, ‘समाजको उकुसमुकुस लेख्ने खोजेको छु । उजागर गर्न पाउँदा सन्तुष्टि हुन्छ । म उकुसमुकुसमा नबाँचे पनि मजस्ता धेरै दिदीबहिनीहरू त्यो अवस्थाबाट गुज्रनु परेको छ । तिनका लागि पनि म गीत लेख्छु ।’
जीवनमा कर्मचारी हुनु भनेको लगाम लगाएको घोडा हो भन्छिन् पराजुली । त्यसैले हरेक कर्मचारी फरक सोच र विचारबाट प्रेरित हुनुपर्ने बुझाइ छ उनको । महिलाको सवालमा अहिलेको समाज उदार भए पनि उनीहरू स्वयं सक्षम हुनुपर्ने बताउँछिन् ।
आजका समयमा गीतकार कृष्णहरि बराल, दिनेश अधिकारी, कालिप्रसाद रिजाल, शीतल कादम्बानी जस्ता स्रष्टाहरू पराजुलीले मन पराउँछिन् । उनी भन्छिन्, 'मनोरञ्जन मात्रै गीत होइन । गीतले सन्देश पनि दिनुपर्छ, जसले समाज बदल्न पनि सहयोग गरोस् ।’
'जन्मभूमिभन्दा ठूलो', 'लगनको सारी', 'हामी नारी', 'ए हजुर उठ है, जाग है दिदीबहिनी', 'कहिले म जीतमा रोएँ'लगायतका गीत लेखेकी पराजुलीको हालै नयाँ तीज गीत सार्वजनिक हुने तयारीमा छ ।
'माइत रमाइलो' बोलको तीज गीत देवी पराजुली युट्युब च्यालनबाट साउन २ गते सार्वजनिक हुँदैछ । उक्त गीतको भिडियाेमा उनकाे पनि अभिनय रहने छ ।
उनी भन्छिन्, ‘कर्मचारीप्रति आममान्छेको बुझाइ गलत छ तर कर्मचारी पनि भावना भएको मान्छे हुन् । उनीहरू पनि देश, जनता र समाजका लागि केही गर्न चाहन्छन् र सिर्जानात्मक हुन्छन् भन्ने नबिर्सिदिए हुन्थ्यो भन्ने लाग्छ ।’