मलेसिया । मलेसिया भ्रमणमा पुगेको नेपाली राष्ट्रिय महिला टिमले पाँच खेलको टी-२० सिरिज ३-२ ले जितेको छ । आइतबार सिरिज अन्तर्गत भएको अन्तिम खेलमा नेपालले मलेसियालाई ३ विकेटले पराजित गर्दै सिरिज कब्जा गरेको हो ।
त्यसअघि भएका चार खेलमा दुवै टिमले समान २-२ जित निकालेपछि सिरिजको अन्तिम खेल निर्णायक बनेको थियो । सिरिजको पाँचौँ खेलमा नेपालले टस जितेर पहिले घरेलु टोलीलाई ब्याटिङको निम्ता दिएको थियो । जसमा मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०९ रन बनाएको थियो ।
उसका लागि विनिफ्रेड दुराइसिङ्घमले २४ रन बनाउँदा वान जिलया रोस्दीले ४७ रन बनाएकी थिइन । त्यस्तै महिरा इज्जती इस्माइलीले २० रन बनाएकी थिइन । अतिरिक्त रनका रुपमा मलेसियाले १२ रन पाएको थियो ।
नेपालका लागि कविता जोशीले २ विकेट लिंदा इश्वरी विष्टले एक विकेट लिएकी थिइन । १ सय १० रनको लक्ष्य पछ्याएको नेपालका लागि सिता राना मगरले सर्वाधिक ३४ रन बनाउँदा रुविना क्षेत्रीले २३ रन बनाइन ।
त्यस्तै ज्योती पाण्डेले ११ रनमा अविजित रहँदा उनलाई अप्सरी बेगमले १५ रनमा अविजित साथ दिएकी थिइन । नेपालले मलेसियाले दिएको १ सय १० रनको लक्ष्य १९.२ ओभरमा ७ विकेट गुमाएर पुरा गरेको थियो ।




























