काठमाडौं । नेपालको पूर्वी जिल्ला झापालाई चिनाउने ऐतिहासिक स्थल मध्येको कनकाई नदी कनकाई नगरपालिकामा पर्छ । हिन्दू धार्मिक आस्थाको कोटीहोम साविक सुरुङ्गा गाउँ विकास समितिका नामले समेत परिचित थियो ।
कनकाई नगरपालिका नेपालकै पहिलो विद्युत् चुहावटमुक्त र बन्द निषेधित नगरपालिका पनि हो । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा हाल लक्ष्मीप्रसाद खरेल रहेका छन् । खरेलको निजामती सेवाको यात्राले जोकोहीलाई हौसला प्रदान हुन्छ ।
उनको जन्म ताप्लेजुङको थिङलाबुमा भएको हो । उनको बाल्यकाल थिङलाबुको ओख्राबुमा साधारण किसान परिवारमा बित्यो । रमाइला अनुभव, परिस्थिति र घटनाहरू अझै उनको मष्तिस्कमा ताजै छन् ।
दैनिक १ घण्टा ४० मिनेट हिँडेर पढाइ
उनले सिंहदेवी निमाविबाट अध्ययनको सुरुवात गरेका हुन् । सिंहदेवीमा उनले ७ कक्षासम्म अध्ययन गरे । त्यसपछि उनलाई करीब १ घण्टा ४० मिनेट हिँडेर अर्को मैयाखोला माध्यमिक विद्यालय जानुपर्ने बाध्यता आयो । अत्यन्त कष्टकर र संघर्षसहित उनले मैयाखोला माध्यमिक विद्यालयबाट २०४८ सालमा एसएलसी पास गरे ।
त्यसबेला जम्मा २ जनाले मात्र प्रथम श्रेणीमा पास गरेको उनी बताउँछन् । उनले भने, ‘त्यसबेला सरकारी विद्यालयमा राम्रो पढाइ हुने भएकाले पनि होला राम्रै नतिजासहित एसएलसी पास गरेको जस्तो लाग्छ ।’
त्यसपछि उनी हात्तीसार क्याम्पसमा आईएस्सी पढ्न भर्ना भए । आईएस्सीको परीक्षा दिएपछि उनी नतिजाको पर्खाइका लागि आफ्नै गृहजिल्ला फर्किए । उनले २०५० सालमा आईएस्सी पास गरे । उनलाई त्यसक्रममा विद्यालयमा अध्यापन गराउन प्रस्ताव आएपछि उनी केही समय विद्यालयमा अध्यापन गराउनतिर लागे तर उनको सोच अध्यापन गराउनेभन्दा पनि अध्ययन पूरा गर्ने थियो ।
समय खेर फाल्नुभन्दा अनुभव पनि बटुल्न पाइने भएकाले आफू अध्यापन गराउनतिर लागेको उनी बताउँछन् । अध्यापन गराउँदा–गराउँदै केही वर्ष बितेको उनी बताउँछन् । उनको पढाइमा ‘ग्याप’ पनि भएको थियो । १ वर्षपछि उनी धनकुटा बहुमुखी क्याम्पसमा भर्ना भए । आफू पनि पढ्दै, विद्यार्थीलाई पनि पढाउँदै गएको उनी स्मरण गर्छन् । उनले २०५४ सालमा क्याम्पसबाट उनले शिक्षा संकायमा स्नातक उत्तीर्ण गरेका हुन् ।
दोस्रो प्रयासमा निजामती सेवा प्रवेश
त्यसबेलासम्म पनि उनलाई लोकसेवा हुन्छ भन्ने थाहा थिएन । उनी भन्छन्, ‘मेरो साथी गणेश अधिकारीले लोक सेवामा परीक्षा दिन पाइन्छ भनेपछि मलाई लोक सेवाबारे थाहा भएको हो ।’ गणेश अधिकारी र उनी एउटै विद्यालयमा अध्यापन गराउने गर्थे । उनी भन्छन्, ‘मलाई लोक सेवाको बाटो देखाउने गुरु गणेश अधिकारी हुन् ।’
लोक सेवाको बारेमा थाहा पाएपछि उनी २०५६ सालमा खरिदार, सुब्बा र अधिकृतको परीक्षामा सहभागी भएका थिए तर उनी पहिलो प्रयासमा सफल हुन सकेनन् । त्यसपछि फेरि उनी २०५७ सालको परीक्षामा सहभागी भए र दोस्रो प्रयासमा नायब सुब्बा पदमा नाम निकाल्न सफल भए ।
नायब सुब्बामा नाम निकालेपछि उनको पहिलो दरबन्दी क्षेत्रीय शहरी विकास कार्यालय धनकुटामा भएको थियो । कार्यालयमा करीब डेढ वर्ष काम गरेपछि उनको सरुवा सहकारी कार्यालय ताप्लेजुङमा भयो । त्यहाँ नासु स्तरको कार्यालय प्रमुख हुने भएकाले उनले कार्यालय प्रमुखको जिम्मेवारीको अनुभव समेत गर्न पाए । अरु कार्यालयभन्दा कामको बोझ पनि कम भएकाले आफूलाई अध्ययन गर्न सहज भएको उनी बताउँछन् ।
२०६६ सालमा शाखा अधिकृतमा नाम निकाल्न उनी सफल भए । उनको अधिकृतको रूपमा पहिलो दरबन्दी पाँचथरमा सहायक प्रमुख जिल्ला अधिकारीको थियो । उनले त्यहाँ करीब २७ महिना काम गरेपछि उनको सरुवा जिल्ला प्रशासन कार्यालय झापामा भयो । उनले त्यहाँ पनि २ वर्ष ६ महिना काम गरे ।
त्यसपछि उनले पशुपतिनगर गएर करीब १० महिना काम गरेपछि फेरि उनको सरुवा जिल्ला प्रशासन कार्यालय सर्लाहीमा भयो । उनी जतिबेला सर्लाही पुगे, त्यतिबेला मधेश आन्दोलन चरम उत्कर्षमा पुगेको थियो । त्यसबेला त्यस ठाउँमा काम गर्न धेरै चुनौतीको विषय थियो ।
नाकाबन्दी, हड्ताल, तोडफोडले गर्दा प्रशासनलाई थप चुनौती थपिएको उनी स्मरण गर्छन् । सर्लाहीमै रहँदा तराईमा अविरल वर्षाका कारण काममा अझै चुनौतीको सामना गर्नुपरेको उनी बताउँछन् । ‘एक त मधेश आन्दोलन भइरहेको, दोस्रो बाढीले ठूलो धनजनको क्षति भएको र त्यसमा पनि कर्मचारीको दरबन्दी अत्यन्त न्यून भएकाले काम गर्न असहज भएको थियो,’ उनी भन्छन् ।
सेवा प्रवाह पनि गर्नुपर्ने र व्यवस्थापन पनि गर्नुपर्ने भएकाले उनी बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म काम गर्थे । त्यसले आफूलाई बोझ नभएर थप ऊर्जा थपेको उनी बताउँछन् । उनी भन्छन्, ‘त्यसपछि मलाई जस्तोसुकै परिस्थितिमा पनि काम गर्न सकिन्छ भन्ने लाग्यो ।’
त्यसका बाबजुद उनले सर्लाहीमा ३ वर्ष ३ महिना काम गरे । त्यसपछि उनको सरुवाको कुरा आएपछि उनी झापा जान चाहेका थिए । घर परिवारलाई समय दिन सजिलो हुन्छ भनेर उनले झापा रोजेका थिए तर उनको सरुवा झापा नभएर मोरङमा भयो । तत्कालीन सचिव र गृहमन्त्रीलाई भेटेर पत्र बुझाए पनि झापाका सांसदको प्रेसरले उनको सरुवा मोरङमा भएको उनी बताउँछन् तर केही समयपछि उनको सरुवा झापामै भयो । उनी भन्छन्, ‘जति नमिठो पल मलाई मोरङ सरुवा गर्दा लागेको थियो, त्यति नै खुशी म झापा पुग्दा भएको थिएँ ।’
करीब १० वर्ष शाखा अधिकृत भएर काम गर्दा पनि उनको बढुवा भएको थिएन । धेरै समय तालिम लिन नपाएकाले पनि उपसचिवमा बढुवा ढिलो भएको उनी बताउँछन् । उनको उपसचिवमा बढुवा हुनुभन्दा अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा सरुवा भएको थियो ।
३ महिनाका लागि जाँदा कोठा खोज्ने लगायतका काम गर्नुपर्ने भएकाले पनि उनी त्यहाँ जान चाहेका थिएनन् । त्यसलाई मध्यनजर गरेर अध्यागमन विभाग नगएर झापाकै मालपोत कार्यालय गएको उनी बताउँछन् । लामो समय जिल्ला प्रशासन कार्यालयमा काम गरेका उनले मालपोत कार्यालयको पनि अनुभव लिए ।
२०७८ सालमा उपसचिवमा बढुवा भएपछि उनी पथरी शनिश्चरे नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर गएका थिए । उनले नगरपालिकामा २ वर्ष ४ महिना काम गरेका थिए । त्यसपछि उनको सरुवा कनकाई नगरपालिकामा भयो । हाल पनि उनी कनकाई नगरपालिकामै कार्यरत छन् ।
कर्मचारीतन्त्र प्रतिको बुझाइ
एउटा राज्यलाई चलाउन चाहिने कानून, कर्मचारी, निर्वाचित प्रतिनिधि आदिबाट आएका कुराको सही समायोजन गर्नु नै कर्मचारीतन्त्रको हो । कर्मचारीतन्त्रप्रति पहिला जति विश्वास हुन्थ्यो, अहिले प्रश्न उठ्न थालेको छ ।
कर्मचारीतन्त्र प्रक्रियामुखी भएकाले पनि काम सम्पन्न गर्न समय लाग्छ । जनतालाई यसबारे बुझाउन नसक्दा काम समयमा नगरेको आरोप पनि लाग्ने गरेको छ । यो आरोप लाग्नु स्वाभाविक पनि हो । निजामती क्षेत्रमा मान्छे जुन उत्साह र उमंगका साथ लाग्ने गर्छन्, भित्र सोचेजस्तो सहज छैन ।
निजामती सेवामा आउन चाहनेलाई सुझाव
निजामती क्षेत्र जनताको सेवा गर्ने थलो हो । कमाउने मनसाय लिएर निजामती क्षेत्रमा प्रवेश गर्न चाहने व्यक्ति सफल नहुने उनी बताउँछन् । उनी भन्छन्, ‘व्यापार र अन्य जागिर जस्तो निजामती क्षेत्र कमाउने थलो होइन । सम्पत्ति कमाउन चाहनेले निजामतीमा प्रवेश नगर्दा उचित हुन्छ । जो सेवा गर्छु भन्ने उद्देश्य साथ आउँछ, उसलाई यस क्षेत्रमा रहेर काम गर्दा सहज अवस्था सिर्जना हुन्छ ।’