काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास जग्गा प्रकरणमा मुद्दा दर्ता हुने प्रष्ट पारेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले मुद्दा दर्ता नहुने भन्ने प्रश्न नै नरहेको बताए ।
एआईजी बज्राचार्यले मुलुकी ऐन, २०२० अनुसार सरकारी लिखित किर्तेमा हदम्याद लागू नहुने दाबी गरिन् । 'मुद्दा नगर्ने प्रश्न नै आउँदैन । मुद्दा दर्ता हुन्छ । अगाडि बढ्छ', उनले भनिन्, 'हदम्यादको सन्दर्भमा पनि दुबिधा गर्नुपर्ने प्रश्न छैन । सानोभन्दा सानो मुद्दामा पनि चलखेल गर्ने पक्ष रहन्छ नै । उनीहरूलाई जवाफ दिने हामीसँग यथेष्ट प्रमाणहरू छन् ।'
यो प्रकरणमा लामो अनुसन्धान गरेर पक्राउ गरिएको एआइजी बज्राचार्यको भनाइ छ ।
सीआईबीले मंगलबार भानभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाहसहित ७ जनालाई पक्राउ गरेको थियो ।


























