काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकार सम्हालेपछि रासायनिक मलको अभाव हटाएको दाबी गरेका छन् ।
बुधवार संसद्मा बजेटमा उठेको प्रश्नको जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन् । यो आर्थिक वर्षमा ७८.५ मेट्रिक टनको आपूर्ति निश्चित भएको र सरकारले एक लाख ९५ हजार ९ सय मेट्रिक टन मल आयात भएर पनि एक लाख ४५ हजार ९ सय मेट्रिक टन मल वितरण भइसकेको दाबी गरेका हुन् ।
‘मलको हाहाकार हुने कुरा सञ्चार माध्यमका हेडलाइन बन्थे । तर, त्यसलाई बदलेर मल अभाव नहुने अवस्था बनाएका छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो पूर्ण होइन तर अभावको चरम अवस्था हटायौं ।’
आगामी आर्थिक वर्षका लागि मल अभाव हुन नदिन ३० अर्ब रुपैयाँ विनियोजन गरेको पनि प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।
देशमै रासायनिक मल उद्योग खोल्नका लागि लगानी बोर्डले अध्यायन गरिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले भारतसँग आपसी सहकार्यमा मल कारखाना खोल्न छलफल भइरहेको पनि बताए ।