काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पुस्तालाई लोकतन्त्रबाट दिग्भ्रमित पार्न खोजिएको बताएका छन् ।
उनले अहिलेको भन्दा पनि विगतकै शासन व्यवस्था राम्रो थियो भन्ने भ्रम आजको युवा पुस्तामा पार्न खोजिएको बताएका छन् ।
प्रतिनिधिसभाको बुधवारको बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका कार्यालयको विनियोजनमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले युवाहरूलाई लोकतन्त्रप्रति नै लगावमा राख्ने काम सबैको रहेको बताए ।
२०६२/०६३ को व्यवस्था परिवर्तनपछिको पुस्ता अहिले सामाजिक सञ्जालमा सक्रिय रहेको भन्दै प्रधानमन्त्री दाहालले उक्त पुस्तालाई लोकतन्त्रप्रति दिग्भ्रमित पार्ने लागिएको बताए । ‘अहिले नयाँ पुस्ता तयार भएको छ । त्यस्तो पुस्ता जसले युद्धको विभिषिका देख्नु परेन । विद्यालयमा पुग्न ३-४ घण्टा पैदल हिँड्नु परेन । त्यो पुस्ताले यो देशमा कुनै दिन इन्टरनेट, टेलिफोन काटेर एयरपोर्ट र सडकसम्म बन्द गरेर देशमा चलाएको शाही शासन देखेनन्,’ प्रधानमन्त्रीले भने,‘सञ्चार गृहमा पसेर बर्दीधारीले सम्पादकलाई के छाप्ने, के देखाउने, के सुनाउने भनेर निर्देशन दिन्थे भन्ने इतिहास पनि आज सोसल मिडियामा उन्मुक्त पुस्तालाई थाहा छैन । आज त्यो पुस्तालाई हिजो देशमा दुधकै नदी बग्थ्यो भन्ने भाष्य खडा गरेर लोकतन्त्रबाट दिग्भ्रमित पार्ने अधिकार हामी कसैलाई छैन ।’
मुलुकबाट राजतन्त्रलाई बिदा गरेर लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि जनताको जीवनस्तरमा आएको परिवर्तनलाई बिर्साउन खोजिएको प्रधानमन्त्रीको भनाइ छ । ‘२० वर्षअघि र आजको जनताको जीवनस्तरमा आएको परिवर्तनलाई बिर्साउन खोजिँदै छ,’ उनले भने । उनले सुशासनको समस्याका कारणले गर्दा पनि यस्तो भाष्यलाई सहयोगी बनेको उनले बताए । लोकतन्त्रको सुदृढीकरण गर्दै अगाडि बढ्न पनि उनले सबैलाई आग्रह गरेका छन् ।
त्यस्तै, प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालले राष्ट्रका प्राथमिकतालाई विषयान्तर गरिरहेको भान भइरहेको बताएका छन् । उनले भने, ‘कतै हामीबीच विषय विज्ञता, ज्ञान र विवेकभन्दा निन्दाबाजी र आवेग त हाबी हुँदै गएको छैन ?’
जनताका मुद्दा समाधान गर्ने भन्दा पनि सस्तो लोकप्रियताका विषय उठानले जनतामा निराशा फैलाउने काम गरिरहेको त छैन भन्ने विषयमा गम्भीर बन्न प्रधानमन्त्री दाहालले सांसदहरूलाई आग्रह गरेका थिए । ‘कतै हाम्रै कारणले राजनीतिको चरित्र, चित्र कमजोर पार्ने गरिरहेका त छैनौं ? लोकतन्त्र भावनात्मक आधारले मात्रै सुदृढ हुँदैन,’ उनले भने ।