काठमाडौं । चीनबाट दोलखा हुँदै ११ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका नौ जनालाई जिल्ला अदालत दोलखाले पुर्पक्षका लागि थुनामा पठाएको छ । तीन जनालाई भने धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले शुक्रबार ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
प्रहरीले दोलखाको बिगु गाउँपालिका १ लमाबगरबाट ४ किलो, जामुने भन्ने ठाउँबाट ३ किलो र लामाबगरबाट ४ किलो गरी ११ किलो सुन बरामद गरेको थियो।
सुन तस्करी प्रकरणमा प्रहरीले अनुसन्धान गरी २६ जनाविरुद्ध अभियोगपत्र दायर गरेको थियो। चिनियाँ नागरिकसँग मिलेर सुन तस्करीमा संलग्न महिमा माझीबाट १ करोड ७९ लाख ४० हजार रुपैयाँ, दीपेन्द्रराज शाक्यबाट ९३ लाख ५० हजार रुपैयाँ र तिलक विकबाट ८८ लाख रुपैयाँ धरौटी लिन अदालतले आदेश दिएको छ ।
महिमा विरुद्ध ३१ करोड ११ लाख ७० हजार ४४६ रुपैयाँ १५ पैसा विगो तथा दिपेन्द्र शाक्य र तिलक विकविरुद्ध २० करोड ७४ लाख ४६ हजार ९६४ रुपैयाँ १० पैसा विगो कायम गरी मुद्दा दायर भएको थियो ।
यही समूहका दावा भन्ने आकार लामा, टासी भन्ने गेङ्रु, नुर्बु छिरिङ शेर्पा, पेम्बा तामाङ, च्याङ्बा भन्ने चस्मान तामाङ, सनद प्रधान, लालबहादुर तामाङ, केशर तामाङ र माधव कुमार मगरलाई थुनुवा पुर्जी दिई थुनामा राख्न कारागार कार्यालय पठाइदिन अदालतको आदेश छ ।
केशर तामाङ र माधव कुमार मगरले ११ किलो सुन बोरामा राखेर ओसार पसार गर्दै लुकाइछिपाई राखेको अवस्थामा बरामद भएको थियो । यसैगरी सुनमाला तामाङ र चेतनाथ न्यौपानेलाई भने साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ ।