काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले नाराबाजी गरेपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुवैको बैठक केही समयका लागि स्थगन गरिएको छ ।
आइतबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका विषयमा छलफल गर्नुपर्ने भन्दै एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले नाराबाजी गरेपछि संसद् बैठक स्थनगन गरिएको हो ।
नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री दाहालको हालैको भारत भ्रमणबारे विपक्षी दलहरूले जवाफ मागेका छन् । एमालेका प्रमुख सचेतक पदम गिरीले संवैधानिक प्रक्रिया अनुरूप संसद्मा नयाँ नागरिकता विधेयक दर्ता गर्न माग गरे ।
संसद्मा नयाँ नागरिकता विधेयक दर्ता भएपछि दिनरात छलफल गरेर भए पनि एक हप्ताभित्र नयाँ विधेयक पारित गरेर नागरिकता प्रदान गर्ने काम अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । सरकारले संविधानको मर्म विपरीत नागरिकता विधेयक ल्याएको प्रमुख सचेतक गिरीले आरोप लगाए ।
यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा राष्ट्रघाती काम गरिएको भन्दै एमालेले सरकारको जवाफ माग्दै आइतबार राष्ट्रिय सभाको बैठक पनि अवरोध गरेको छ ।
बैठक सुरु भएलगत्तै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले समय लिएर बोल्दै राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानको उल्लंघन गरेको बताए । उनले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतको भूभाग बंगलादेशसँगको बाटो पाउने सर्तमा भारतलाई छोड्न तयार रहेको कुरा गरेर राष्ट्रघाती काम गरेको आरोप लगाए । त्यसैले भ्रमणका सन्दर्भमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनले माग गरे ।
यस बारेमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारलाई जवाफ दिन रुलिङ गरेका छन् । तर रुलिङ गरेपछि पनि एमाले सांसदहरुको अवरोध नरोकिएपछि राष्ट्रिय सभाको आइतबारको बैठक २९ मिनेटका लागि स्थगित गरिएको छ ।