कास्की । पोखरा महानगरपालिका–५ पस्र्याङ निवासी सुन्तला व्यापारी राजेश कार्कीले कुनै वर्ष एकै दिनमै ११ गाडी सुन्तला बिक्रीका लागि विराटनगर पठाउँथे तर पछिल्ला वर्ष सोही परिमाणमा सुन्तला मधेशतिर पठाउन सकेका छैनन् ।
‘पकेट’ क्षेत्र मानिने स्याङ्जा, म्याग्दी, बागलुङ, लमजुङ, तनहँु, पर्वत लगायत जिल्लामा उत्पादित सुन्तला बिक्री गर्ने मुख्य केन्द्र पोखरा बजार हो । पोखरा बजारमा ल्याइएका सुन्तला लिएर स्थानीय व्यापारी पूर्वी तराईका जिल्लासम्म जाने गर्छन् ।
केही वर्षदेखि कास्की लगायत जिल्लामा सुन्तलाको बोटमा देखापरेको ‘ग्रिनिङ भाइरस’ रोगका कारण यस क्षेत्रमा सुन्तला उत्पादन घटेको छ । सुन्तलामा देखापरेको रोगसँगै साना दाना र बोक्रामा दाग देखापर्ने गरेको कास्कीका किसान भोलाप्रसाद पोखरेलले बताए ।
यस क्षेत्रमा सुन्तला उत्पादन बढी हुने जिल्लाको रूपमा स्याङ्जा मानिँदै आएको छ तर त्यहाँको सुन्तलामा दाग देखिन थालेको व्यापारी राजेश कार्कीले बताए । रसिला नहुँदा र बोक्रामा दाग हुँदा उपभोक्ताका रोजाइँमा स्याङ्जाको सुन्तला कम पर्ने गरेको छ । पश्चिम स्याङ्जाका सुन्तला बिक्रीका लागि केही बुटवल पनि लैजाने गरिएको छ ।
सुन्तलाको बोटमा रोग देखिएकै कारण कास्कीमा भने सुन्तला उत्पादन शून्यप्रायः छ । केही मात्रामा कास्कीको निर्मलपोखरीको दोपरेमा मात्र सुन्तला देख्न सकिन्छ । पछिल्ला वर्ष म्याग्दी, बागलुङ र पर्वतलगायत स्थानका सुन्तला स्वादिष्ट र ग्राहकको रोजाइँमा पर्ने गरेको जानकारी सुन्तला व्यापारी देवीप्रसाद कँडेलले दिए । यहाँ फल्ने सुन्तलामा चिल्ला र पातला बोक्रा हुँदा स्वादिष्ट हुने गरेको उनको भनाइ छ ।
पोखराका उपभोक्ताले यतिबेला सुन्तलाको मूल्य प्रतिकेजी ४० देखि १२० रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ तर किसानले त्योभन्दा निकै कम मूल्य पाउने गरेका छन् । म्याग्दी जिल्ला निवासी सुन्तला व्यापारी मनबहादुर क्षेत्रीले यस वर्ष म्याग्दीबाट तीन खेप सुन्तला पोखरा बजारमा ल्याए तर तिनै पटक नोक्सान व्यहोर्नुपरेको गुनासो सुनाउँदै अब १५ दिन सुन्तला नल्याउने सोचमा छन् ।
गाउँमै पुगेर किसानसँग आफूले ७० रुपैयाँमा सुन्तला खरिद गरेको तर पोखरा बजारमा ल्याउँदा त्यो मूल्य पनि पाउन नसकेको दुखेसो उनले पोखे । ‘म्याग्दीबाट पोखरा सुन्तला ल्याइ पुर्याउँदा ढुवानी र मजदुरलाई मात्र प्रतिकेजी १५ बुुझाउनुपर्ने हुन्छ,’ क्षेत्रीले भने, ‘म्याग्दी र बाग्लुङको सुन्तला स्वादिष्ट र केही महंगो पर्छ भन्ने कुरा उपभोक्ताले बुझ्न नसक्दा घाटा पनि व्यहोर्नुपरेको छ ।’
स्याङ्जाबाट ल्याउदा प्रतिकेजी ढुवानी र मजदुर लागत ७ रुपैयाँ पर्ने र सुन्तलाको मूल्य सस्तो पर्ने भएकाले व्यापारीले नोक्सान व्यहोर्नुनपर्ने भनाइ क्षेत्रीको छ । तराई क्षेत्रका जिल्लामा यस वर्ष सुन्तला खपत कम भएको जानकारी क्षेत्रीले दिए । सुन्तला जातको किबु तराईका जिल्लामा प्रतिकेजी ३० रुपैयाँमा पाइने भएकाले पनि यस क्षेत्रका सुन्तला त्यो क्षेत्रमा कम बिक्री हुने गरेको सुन्तला व्यापारी श्यामकृष्ण अधिकारीले बताए ।
पोखराका तरकारी तथा फलफूल बजारस्थलमा यतिबेला सुन्तलाका थुप्रा त देखिन्छन् तर ती सुन्तलाको रसिलोपन भने प्रतिवर्ष घट्दै गएको छ । यहाँका व्यापारीले ती सुन्तला तराईको पूर्वी क्षेत्र काँकडभिट्टा, बिर्तामोड, चारआली, दमक, लहान, पर्सा, हेटौंडा, काठमाडौं लगायत बजारमा थोक रूपमा बिक्री गर्न छानेर लाने गर्छन् ।