नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले अब काठमाडौं वरिपरिका जिल्लाको विकासका लागि समय आएको बताएका छन् ।
आज शनिबार नुवाकोटको पञ्चकन्या गाउँपालिकास्थित कविलास स्वास्थ्य चौकीको उद्घाटन गर्दै मन्त्री महतले भने, ‘काठमाडौं बजार हो, नजिक छ, त्यहाँ खर्च गर्ने ठूलो जनसंख्या पनि छ । राजधानी काठमाडौंसँग जोडिएको नुवाकोट नजिक भएर पनि पछाडि परेको जिल्ला हो, टाढाका जिल्लाले आफूलाई तयार गर्नुपर्छ भनेर शिक्षाको चाँडै विकास भयो । त्यहाँका अगुवाले शिक्षामा लगानी गरे । लेखपढलाई प्राथमिकता दिए तर काठमाडौं वरिपरिको आम्दानीको मूल स्रोत जग्गा जमिन थियो ।’
‘काठमाडौंमा राणाहरूका नजिक जो थिए, तिनलाई रिझाएबापत पुरस्कारका रूपमा जमिन माग्थे । उब्जनी सहजै काठमाडौं पुर्याउन सकिने ठाउँमा उनीहरू जमिन माग्थे । काठमाडौंसँग जोडिएको उब्जाउ जमिन नुवाकोट हो । काठमाडौं बसेर नुवाकोटको जमिन उपभोग गर्नेहरू धेरै भए,’ उनले थपे, ‘काभ्रे, धादिङ र नुवाकोटका जनताले प्रशस्त उब्जनी गर्ने र ठूलो हिस्सा काठमाडौं पुर्याउने काममा केन्द्रित छन् । शिक्षाको विकास विशेषतः ०४६ पछि मात्र गति लिएको हो । काठमाडौंको नजिक र शासकको नजरमा परेर हिजो नुवाकोटका जनता रैती बनेका थिए ।’
अब काठमाडौंबाट नुवाकोटलाई अझ नजिक बनाउनुपर्ने उनले बताए । ‘काठमाडौं–छहरे सुरुङ मार्गको काम हामीले गरिरहेका छौं । १ अर्ब बजेट पनि राखेका छौं, सुरुङमार्ग जटिल काम हो । यसका लागि तयारी सबैभन्दा महत्त्वपूर्ण हुन्छ, तयारी सकिएपछि मात्र काम अघि बढ्छ तर तयारीको काम देखिँदैन,’ उनले भने ।