झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले बचत तथा ऋण कारोबारसँगै रोजगारी सिर्जना हुने कृषि, उद्योग र व्यापारमा उल्लेख्य लगानी गरेको छ ।
संस्थाले डेरी उद्योग, एग्रो फार्म, सहकारी पसल र चिया उद्योगमा ७० करोड ५१ लाख ३७ हजार ३०४ रुपैयाँ लगानी गरेको अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले बताए । मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा प्रधान कार्यालय रहेको संस्थाको ५८ वटा सेवा केन्द्र झापा, मोरङ र इलाम जिल्लामा सञ्चालनमा छन् ।
सबैभन्दा बढी लगानी एनएमसी एग्रो फार्ममा रहेको छ । मेचीनगर–१४ दुहागढीमा १६ बिघा क्षेत्रफलमा सञ्चालित फार्ममा संस्थाले २२ करोड ७५ लाख ९६ हजार ८३४ लगानी गरेको छ । अध्यक्ष शिवाकोटीका अनुसार ५ वर्षअघि स्थापित फार्ममा हाल ८० वटा उन्नत जातको गाईपालन, ५० वटाभन्दा बढी कृषियन्त्र रहेको ‘कस्टम हाइरिङ’ सेवा, ५० घार मौरीपालन, ५ वटा पोखरीमा माछापालन र हाँसपालन भइरहेको छ ।
कृषि तथा पशुपालनलाई व्यावसायिकरूपमा अघि बढाउने उद्देश्यका साथ सञ्चालित फार्ममा वार्षिक १४ लाख केजी साइलेज (पशु आहार) र फलफूल र तरकारीका १ लाख ७५ हजार बिरुवा उत्पादन हुँदै आएको छ । फार्मबाट उत्पादित महलाई संस्थाले आफ्नै ब्राण्डमा बजारमा बेच्न सुरु गरेको छ ।
संस्थाले ‘एनएमसी’ ब्राण्डको चिया, मह र डेरीका उपभोग्य वस्तु उत्पादन गर्दै आएको छ । २ वर्षअघि मात्र चिया क्षेत्रमा प्रवेश गरेको सहकारीले झापाको मेचीनगर–३ सुरेन्द्रनगर, इलामको सिद्धपोखरी र साँघुबेंसीमा गरी ३ वटा चिया कारखाना सञ्चालन गरिरहेको छ ।
३ वटै कारखानाबाट ‘अग्र्यानिक अर्थोडक्स’ चिया उत्पादन हुँदै आएको छ । जसको ८५ प्रतिशत उत्पादन विदेशमा निर्यात हुने गरेको छ । आर्थिक वर्ष २०७९/८० मा एनएमसीले २ करोड २ लाख १३ हजार ६०६ मूल्य बराबरको ८६ हजार ५७८ किलो अग्र्यानिक चिया भारत निकासी गरेको संस्थाका पूर्व अध्यक्ष रामचन्द्र उप्रेती बताउँछन् ।
आफ्नै फार्म र संस्थाका सदस्य किसानले उत्पादन गरेको वस्तु बिक्रीका लागि संस्थाले झापामा १६ र ईलाममा एउटा गरी १७ वटा सुपरमार्केट शैलीका सुपथ सहकारी पसल सञ्चालन गरिरहेको छ । ४ वर्षअघि सुरु भएको एनएमसी सहकारी पसलमा संस्थाले १९ करोड ९२ लाख १७ हजार ६१० रुपैयाँ लगानी गरिसकेको छ । गुणस्तरीय सामग्रीको बिक्री गर्ने पसलका रूपमा यसका बिक्री पसलले आम उपभोक्तामाझ अलग र विश्वसनीय पहिचान बनाएको उप्रेतीको दाबी छ ।
संस्थाले सञ्चालन गरेको अर्को महत्त्वपूर्ण व्यवसाय डेरी उद्योग हो । मेचीनगर–८ मा स्थापना भएको एनएमसी डेरी उद्योगले स्थानीय किसानबाट दैनिक १५ हजार लिटर कच्चा दूध संकलन गरी प्रशोधन गर्दै आएको छ । ८ वर्षअघि स्थापना भएको उद्योगमा संस्थाले १५ करोड लगानी गरेको जनाएको छ ।
उद्योगमा ६ हजार ५०० किसान प्रत्यक्षरूपमा जोडिएका छन् भने दैनिक सरदर १३ लाखको कारोबार भइरहेको बताइएको छ । उद्योगले कच्चा दूधलाई प्रशोधन गरी प्रशोधित दूध, दही, पनिर, नौनी, घ्यू, मिठाइ उत्पादन गर्दै आएको उद्योगका डेरी व्यवसाय प्रमुख नवराज अधिकारीले जानकारी दिए ।