काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्ने नाममा मान्छे मार्ने घिनलाग्दो संस्कृति विकास भएको बताएका छन् ।
‘समृद्धिका लागि संकल्प यात्रा’मा निस्किएका अध्यक्ष ओलीले आईतबार अछामको विनायकमा आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै चुनाव जित्नका लागि मानिस मार्न समेत पछि नपर्ने संस्कृति अपराध मात्र नभएर अति घिनलाग्दो संस्कृति भएको बताए ।
‘एउटा मान्छे मारेर चुनाव जित्ने संस्कृति भनेको घिनलाग्दो हो,’ उनले भने ।
अध्यक्ष ओलीले चुनावकै विषयमा २०७९ जेठ १७ गते अछामका विनोद शाहीलाई बेपत्ता बनाई हत्या गरिएकोमा खेद व्यक्त गरे । एउटा होनहार युवाको हत्या गरेर अत्यन्तै घिनलाग्दो काम गरिएको उनले बताए । उनले भने, ‘म विनोद शाहीलाई शहीद घोषणा गर्दछु ।’
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद २०७९ जेठ २१ गते मृत अवस्थामा भेटिएका थिए । जेठ १७ गते बेपत्ता पारिएका अनेरास्ववियुका कार्यकर्ता विनोदको शव जेठ २१ गते भीरबाट खसालिएको अवस्थामा फेला परेको थियो ।
अध्यक्ष ओलीले सरकामा हुँदा पनि एमालेले यस्ता कुरालाई हतोत्साहित गरेको बताए । उनले भने, ‘हामी सरकारमा हुँदा यस्ता कुरा हुन पाउँदैन, जब हामी सरकारबाट हट्छौं, तब विभिन्न हत्याहिंसाका शृंखलाहरू सुरु हुन्छन्, जाली मुद्दा लगाउने सिलसिला सुरु हुन्छ, हत्यारा उम्काउने सिलसिला सुरु हुन्छ ।’
पञ्चदेवल जस्तो पवित्र ठाउँ कुनै पनि अपराध गर्ने र अपराधी लुक्ने ठाउँ हुन नहुने ओलीले बताए ।
अहिलेको सरकारले हत्यारालाई माफी दिने, मुद्दा चलाउन नमान्ने र चलाइहाल्यो भने पनि मुद्दा फिर्ता लिने काम गरेको उनले बताए । अदालतले सर्वस्व हरणसहित जन्मकैद गरेकालाई तुरुन्त मुद्दा फिर्ता लिने काम सरकारले गरेको भन्दै ओलीले आलोचना गरेका छन् ।
उनले भने, ‘अहिले धमाधम अदालतले त्यस्ता मुद्दा फिर्ता लिन पाउँदैनौ भनेर फेरि जेलमा हालिराखेको छ ।’
नेकपा एमालेले बैतडीको झुलाघाटबाट मध्यपहाडी पुष्पलाल लोकमार्गलाई आधार बनाएर पाँचथरको चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा गरिरहेको छ । यात्राका क्रममा मध्यपहाडको समस्या र विकासको सम्भावना पहिचान गर्ने एमालेले जनाएको छ ।