काठमाडौं । भारतको मध्य प्रदेश, राजस्थान र छत्तीसगढ विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले बहुमत ल्याएको छ ।
भारतीय निर्वाचन आयोगबाट प्राप्त जानकारी अनुसार तेलङ्गनामा भारतीय कंग्रेसले भारत राष्ट्र समिति (बीआरएस) को १० बर्षसम्मको सत्तालाई अन्त्य गर्नसक्ने देखिएको छ ।
निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार मध्य प्रदेशमा भाजपाले २३० मध्ये १६६ सिटमा अग्रता लिएको छ भने कंग्रेसले ६३ सिटमा अग्रता लिएको छ ।
राजस्थानमा भाजपाले १९९ सिटमध्ये ११५ सिटमा अग्रता लिएको छ, जुन अशोक गेहलोत सरकारलाई सत्ताच्युत गर्ने दिशामा छ । राज्यमा कंग्रेसले ६९ सिटमा अग्रता लिएको छ ।
छत्तीसगढको चुनावमा अधिकांश सर्वेक्षण ‘एक्जिट पोल’ले कंग्रेसले सरकार कायम राख्ने अनुमान गरे पनि परिणामले अर्कै देखाउँछ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार भाजपाले ९० मध्ये ५५ सिटमा अग्रता लिएको छ भने कंग्रेसले ३५ सिटमा अग्रता लिएको छ ।
तेलङ्गनामा ११९ सदस्यीय विधान सभामा कंग्रेसले ६४ सिटमा अग्रता लिएको निर्वाचन आयोगको अद्यावधिक विवरणले देखाएपछि वर्तमान बीआरएसले हार स्वीकारेको छ । बीआरएसले ३९ सिटमा अग्रता लिएको छ भने भाजपा र बीआरएसका संयुक्त उम्मेदवारले क्रमशः ८ र ७ सिटमा अग्रता लिएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्य प्रदेश, राजस्थान र छत्तीसगढ विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) को विजयको प्रशंसा गर्दै परिणामले विकास र सुशासनको राजनीति र भाजपामाथि मात्र जनताको विश्वास रहेको देखाएको बताए ।
उनले मतदाताहरू विशेषगरी महिला मतदाताहरू र युवाहरूलाई भाजपामाथिको उनीहरूको स्नेह र आशिर्वादको लागि धन्यवाद दिए ।
प्रधानमन्त्री मोदीले भने, ‘भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्यका साथ जनता अगाडि बढिरहेको र आज हामीले त्यस दिशामा बलियो कदम चालेका छौं ।’ उनले भाजपाले जनताको हितका लागि कडा मेहनत गरिरहने बताए ।
सामाजिक सञ्जाल एक्स (ट्वीटर) मार्फत् एक सन्देश जारी गर्दै उनले भने, ‘हामी जनतासामु नतमस्तक छौं । मध्य प्रदेश, राजस्थान र छत्तीसगढको परिणामले भारतका जनताको विश्वास सुशासन र विकासको राजनीतिमा मात्र छ, उनीहरूलाई भाजपामा विश्वास छ भन्ने बताइरहेको छ ।’
यसैबीच, कांग्रेस नेता राहुल गान्धीले आईतबार मध्य प्रदेश, छत्तीसगढ र राजस्थानको विधानसभा चुनावमा पार्टीको हार स्वीकार गरे पनि पार्टीको विचारधाराको लडाइँ जारी रहने बताए ।
राहुल गान्धीले एक्स (ट्वीटर) मा लेखेका छन्, ‘हामी मध्य प्रदेश, छत्तीसगढ र राजस्थानको जनादेशलाई विनम्रतापूर्वक स्वीकार गर्दछौं । विचारधाराको लडाइँ जारी रहनेछ ।’
भारत राष्ट्र समिति (बीआरएस), जसलाई यसपहिले तेलङ्गना राष्ट्र समितिको नामले चिनिन्थ्यो, को १० वर्षे शासनलाई हटाएर नयाँ सरकार गठन गर्न लागेको तेलङ्गानामा उहाँले आफ्नो पार्टीले ‘प्रजालु तेलङ्गना’ बनाउने वाचा पूरा गर्ने बताए ।