काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काभ्रेमा निजी क्षेत्रबाट हेलिपोर्ट बनाउन दिएको सहमति नेपाल नागरिक उड्डयन प्राधिकरणले कार्यान्वयन नगर्ने भएको छ।
प्राधिकरणले प्राविधिक र कानुनी रूपमा निजी कम्पनीलाई हेलिपोर्ट निर्माण कार्यान्वयन सम्भव नदेखिएको भन्दै बुधवार मन्त्रालयलाई पत्र पठाएको हो।
प्राधिकरणका एक कर्मचारीका अनुसार हेलिपोर्टको उड्डयन तथा हवाई सुरक्षाको जिम्मा निजी क्षेत्रलाई नभएकाले निजी क्षेत्रबाट निर्माण गरिने हेलिपोर्टका लागि प्रदान गरिएको सैद्धान्तिक सहमति कार्यान्वयन गर्न नसकिने देखिएको हो।
पर्यटन मन्त्री किरातीले गत जेठ २२ गते सिम्रिक एयरलाई काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नम्बर १४ राउत गाउँको माथिल्लो भाग इटापु डाँडामा हेलिपोर्ट बनाउन सैद्धान्तिक सहमति दिएका थिए।




























