मोरङ । जिल्लाको बेलबारी नगरपालिका–१० भाउन्नेको जं्गलमा हात्तीको आक्रमणमा परेर १ पुरूषको मृत्यु भएको छ ।
जंगली हात्तीको आक्रमणबाट ५३ वर्षीय कमल माझीको आज सोमबार मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।
उनले लेटाङ नगरपालिका–३ घर भएका माझीलाई साइकलमा घरेलु मदिरा बनाउने मर्चा बोकेर यात्रा गरिरहेका बेला सामुदायिक वन क्षेत्रमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै निधन भएको बताए ।
माझी लेटाङस्थित घरबाट बेलबारी लक्ष्मीमार्गको बजारतर्फ साइकलमा आउँदै गरेको बेला जंगली हात्तीको आक्रमणमा परेको प्रहरीको भनाइ छ । बाटो हिँड्नेले जंगलमा आज शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनास्थल पुगेर कानूनी प्रक्रिया पूरा गर्दै शव परीक्षणका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरतर्फ पठाएका थिए ।
लेटाङ तथा भाउन्ने आसपासमा रातभर २ दर्जनभन्दा बढी छावा (बच्चा) सहितको जंगली हात्ती देखापरेकाले स्थानीयको सहयोग लिएर प्रहरीले हात्तीको बथानलाई जंगलतर्फ धपाउने काम गरेको स्थानीयले बताएका छन् ।
कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा केही दिनदेखि जंगली हात्तीको आंतक बढेको छ । लस्करै हिँड्ने हात्तीको बथानले विभिन्न ठाउँमा उपद्रो मच्चाइरहँदा सर्वसाधारण त्रसित एवं भयभीत भएका छन् ।
सर्वसाधारणको घर भत्काइ दिनेदेखि बालीनाली खाने र मान्छे मार्नेसम्मको बितण्डा जंगली हात्तीले मच्चाइरहेको मोरङ प्रहरीका प्रवक्ता दाहालले उल्लेख गरे ।
हालसम्म मोरङ, झापा सुनसरी जिल्लामा जंगली हात्तीको आक्रमणमा परी १ हप्ताभित्रमा ४ जनाले ज्यान गुमाइसकेका छन् । हात्तीको आहारा जंगलमा सकिएपछि मानव बस्तीतर्फ हात्तीले निशाना बनाउँदै आएको जिल्ला डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए । उनले हात्तीले धनजनको क्षति पुर्याएपछि सुरक्षाको व्यवस्थापन गर्न सरकारसमक्ष स्थानीयले माग गरेको उल्लेख गरे ।