काठमाडौं । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक सङ्घले अस्थायी, करार र ज्यालादारी कर्मचारीहरूलाई एक पटक स्वतः स्थायी गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएका छन् ।
सङ्घ, प्रदेश र स्थानीय सबै तहमा कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीहरूको रोजगारी ग्यारेन्टीसहित श्रेणीविहीन पदहरूमा कार्यरत सम्पूर्ण करार, ज्यालादारी कर्मचारीहरूलाई एक पटकको लागि स्वतः स्थायी गर्ने व्यवस्था मिलाउन भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन बुझाइएको हो ।
आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नेदेखि प्रतिस्पर्धाबाट स्थायी हुन नसक्ने कर्मचारीलाई गोल्डेन हेन्डचेकको व्यवस्था माग गरेको श्रमिक सङ्घले अस्थायी कर्मचारीलाई अवकाश हुँदा एक ग्रेड थप, सामाजिक सुरक्षा कोषमा आबद्धता, ठेक्काबाट कर्मचारी राख्ने व्यवस्थाको अन्त्य, खारेजीमा परेका कार्यालयका कर्मचारी व्यवस्थापन तथा उपदान र कार्य सम्पादन मूल्याङ्कनलगायतका आधारमा नियुक्ति दिनेलगायतका विभिन्न ८ वटा मागहरू सङ्घले राखेको छ ।




























